ज्यान मार्ने मुद्दामा दोषी ठहर भएका दीपक मनाङे जेल चलान
काठमाडौँः मनाङ प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेदवार निर्वा्चित प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)लाई प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ । ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएका दीपक मनाङेलाई सदरखोर डिल्लीबजार चलान गरिएको छ ।
प्रहरी परिसर काठमाडौंले गुरुङलाई बिहीबार साँझ राजधानीको स्वयम्भूबाट पक्राउ गरेको थियो । ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै २०६९ मा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो । पाँच वर्षमध्ये दुई वर्ष कैद यसअघि नै भुक्तान भइसकेको छ ।
उनी ०७८ वैशाख ६ गतेसम्म कारागारमा रहनेछन् । भारतको सिक्किममा लुकेर बसेका मनाङे १३ दिनअघि नेपाल आएका थिए । ०६१ सालमा चक्रे मिलनमाथि कुटपिट गरेको मुद्दामा मनाङेसहित गणेश लामा, उमेश लामा पनि जोडिएका थिए ।