Logo
१३ बैशाख २०८१, बिहीबार
(April 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्यटन प्रवद्र्धनार्थ सर्वोच्च शिखर सगरमाथाको कालापत्थरमा म्याराथन

काठमाडौं : नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले सर्वोच्च शिखर सगरमाथाको कालापत्थरमा हाफ–म्याराथन दौड प्रतियोगिता आयोजना गरिने भएको छ ।

फोर्टिन पिक एक्सिपिडिसन प्रालिले आयोजना गर्ने उक्त दौड यही वैशाख १२ गते कालापत्थर (५६४४ मिटर) बाट शुरु भई स्याङबोचे (३७८० मिटर) मा टुंगिने छ ।

सो प्रालिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परेका समस्त पर्वतारोहीको स्मरण गर्दै सोही मिति पारेर प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिइयो ।

संसारकै सर्वोच्च स्थानको म्याराथन हुने दाबी गरिएको उक्त प्रतियोगितामा सहभागीले २१ दशमलव ७ किमीको दूरी पार गर्नुपर्ने हुन्छ । प्रतियोगीले खराब मौसमसँग गर्नुपर्ने संघर्ष, लेक लाग्ने डरजस्ता चुनौतीको सामना गर्नुपर्ने छ । प्रतियोगितामा नेपाल, भारत, चीन, संयुक्त अरब इमिरेट्स, स्पेनलगायत विभिन्न मुलुकका १५० धावक सहभागी हुनेछन् ।

प्रतियोगितामा महिला तथा पुरुष समूहका विजयी प्रथमलाई ११ सय ६५ अमेरिकी डलर नगद तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । हरेक वर्ष आयोजना गर्ने यो दौड अत्यन्त साहसिक मात्र नभई निकै रोमाञ्चकारी हुने छ ।

कम्पनीका प्रबन्ध निर्देशक टासी लाक्पा शेर्पाले नेपालको पर्यटन उद्योगमा नयाँ उत्पादन ल्याई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले नेपालको पर्यटन प्रवद्र्धनमा यो प्रतियोगिता महत्वपूर्ण कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

मौसमी सामञ्जस्यता मिलाउन हरेक दिन पाँच घण्टाका दरले ट्रेकिङ गर्दै हाफ म्याराथन शुरु स्थल कालापत्थरसम्म पुग्नुपर्ने भएकाले आयोजक तथा धावकको समूह मंगलबार कालापत्थर प्रस्थान गर्ने बताइएको छ । प्रतियोगिताको अनुमानित लागत एक लाख ८५ हजार अमेरिकी डलर हुनेछ ।

प्रकाशित मिति: Apr 16, 2018

प्रतिक्रिया दिनुहोस्