Logo
२१ आश्विन २०७९, शुक्रबार
(April 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बस्ती पस्ने हात्तीलाई रेडियो कलर लगाएर निगरानी

चितवन : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मानव¬–वन्यजन्तु द्वन्द्व रोक्न ध्यान केन्द्रित गरेको छ । विभिन्न ठाउँमा मानव-वन्यजन्तु द्वन्द्व बढेको भन्दै यसको न्यूनीकरणका उपाय खोजी गरी पर्या–पर्यटनको विकासमा ध्यान केन्द्रित गरेको विभागका महानिर्देशन मनबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार हात्तीबाट मानव बस्तीमा बढी क्षति पुग्ने गरेकाले त्यसलाई रोक्न विभिन्न उपायहरु अवलम्बन गर्न लागिएको छ । मुख्यगरी चितवन, पर्सा, बर्दिया र कोसी क्षेत्रमा जंगली हात्ती पसेर बस्तीमा क्षति पु¥याउँदै आएको छ । त्यसपछि चितुवा, गैंडा, बाघ, भालु, बँदेलले क्षति पु¥याउने गरेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज र कोशीटप्पु वन्यजन्तु आरक्षमा बस्ती पस्ने हात्तीलाई रेडियो कलर लगाएर निगरानी थालिएको बताउँँदै महानिर्देशक खड्काले अब चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पनि त्यो काम शुरु गरिने जानकारी दिए । बढी द्वन्द्व हात्तीसँग भएको निष्कर्ष विभागको छ ।

यसअघि हात्ती जंगलबाट बस्ती पस्न लागेका बेला विशेष प्रविधिमार्फत साइरन बज्ने र हात्ती आएको सूचना दिने प्रविधि बर्दियामा परीक्षण गरिएको थियो ।

उक्त प्रविधि प्रभावकारी भएको भन्दै खड्काले अन्य क्षेत्रमा पनि यो प्रविधि उपयोग गर्नेबारे छलफल भइरहेको बताए । ‘यसले द्वन्द्व न्यून गर्न सहयोग पुग्छ भन्ने विश्वास छ,’ खड्काले भने – ‘अब विभागको ध्यान द्वन्द्व घटाउँदै पर्या–पर्यटनको विकासमा गर्नमा जान्छ ।’

यो सँगै वन्यजन्तुको सुरक्षाका कार्यक्रमलाई अझै प्रभावकारी बनाइने विभागको भनाइ छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रिविनोद दाहाल रेडियो कलर लगाएको हात्तीको निगरानी कम्प्युटरबाटै हुने गरेको बताए । बस्तीमा आउन लागेको थाहा पाएपछि समुदायलाई सचेत पार्ने गरिएको छ । यसअघि यहाँ हात्ती बस्ती आउन लागेपछि साइरन दिने प्रविधिको समेत परीक्षण भएको थियो ।

यसका अलावा द्वन्द्व घटाउन बर्दियामा २५० किलोमिटर क्षेत्रमा विद्युतीय तारवार, कंक्रिट पर्खाल लगाउने लगायतका कार्यक्रमलाई समेत निरन्तरता दिइएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज कुमार शाह बताए । बर्दियामा १२० बढी जंगली हात्ती छन् । विसं २०५७ देखि अहिलेसम्म हात्तीको आक्रमणबाट मात्रै यहाँ ३६ जनाको ज्यान गएको तथ्याँक छ ।

पूर्व कोशीटप्पुमा बस्ती पस्ने २ वटा हात्तीलाई पनि रेडियो कलर लगाएर अहिले अनुगमन गरिरहेको कोशीटप्प वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाह बताए ।

उनले रेडियो कलरका कारण हात्तीहरु कहाँ जाँदैछन् भन्ने निगरानी गर्न सजिलो भएकाले क्षति कम हुने गरेको बताए । विभिन्न नाका र सुरक्षा पोष्टमा साइरन राखेर थप निगरानी गर्ने तयारीमा आरक्ष रहेको समेत उनले बताए । कोशीमा करीव एक दर्जन हात्ती रहेको अनुमान छ ।

अब दोस्रो चरणमा चितवन र पर्सामा पनि द्वन्द्व न्यून गर्ने काम गरिने निकुञ्ज विभागले जनाएको छ ।

केही वर्ष अघि यहाँ १५ जनाको ज्यान लिएर आतंक मच्चाएको धु्रवे नामको हात्तीमा रेडियो कलर लगाइएको थियो । पछि रेडियो कलर जंगलमा भेटिएको थियो । अहिले ध्रुवेको आतंक रोकिएको भएपनि सौराहा क्षेत्रमा रोनाल्डो नामको हात्ती बेलाबेलामा बस्ती पस्ने गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक वन्यजन्तु बस्तीमा आउन नदिन निकुञ्जले गस्ती गर्ने, विभिन्न क्षेत्रमा विद्युतीय तारबार लगाउने र कंक्रिट पर्खालहरु निर्माण गर्ने काम भइरहेको बताए ।

प्रकाशित मिति: Apr 15, 2018

प्रतिक्रिया दिनुहोस्