Logo
१३ बैशाख २०८१, बिहीबार
(April 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मनकामना मन्दिरको छानामा १५ किलो सुनको जलप

जीर्णोद्धारको क्रममा रहेको मनकामना मन्दिरको छानामा सुनको जलप लगाइएको छ । जलप लगाउन ३ करोड ५७ लाख बराबरको १५ किलो सुन खरिद गरिएको मन्दिर जीर्णोद्धार समितिले जनाएको छ । मन्दिरको माथिल्लो छानाको काम लगभग सकिएको जीर्णोद्धार समितिका संयोजक नरेन्द्र बाबु श्रेष्ठले जानकारी दिए। छानामा तामाको पाता बिछ्याएर त्यसमाथि सुनको जलप लगाइएको उनलेब बताए ।

जीर्णोद्धारको क्रममा रहेको मनकामना मन्दिर । पुरानै स्वरुपमा निर्माण भएको मन्दिरको छानामा सुनको जलप लगाइएको छ । ‘दुई वटा छाना मध्ये माथिल्लो छानामा जलप लगाइसक्यौँ अब तल्लो छानाको काम शुरु गर्छौँ,’ श्रेष्ठले भने,‘दुइतीन सय वर्ष टिक्ने गरी जलप लगाएका हौँ।’ साइत जुराएर मन्दिरमा गजुर राख्ने तयारी भइरहेको श्रेष्ठले बताए। मन्दिर जीर्णोद्घारको ९० प्रतिशत काम सकिएको उनको भनाइ छ।

२०७२ असारबाट मन्दिर जीर्णोद्धार सुरु भएको थियो। ‘२०७५ वैशाखमा सक्ने हाम्रो लक्ष्य थियो, नाकाबन्दी र काठ ल्याउन नसक्दा समयमै काम पुरा गर्न सकेनौँ,’ श्रेष्ठले भने। ६ महिनाभित्र मन्दिरको निर्माण कार्य सम्पन्न हुने जीर्णोद्धार समितिको दाबी छ। मन्दिरको पुर्ननिर्माण कार्य सम्पन्न गर्न करिब १३ करोड लाग्ने अनुमान गरिएको छ।

जीर्णोद्धारका लागि भक्तजनबाट करिब ८ करोड संकलन भएको छ। ‘नेपाल सरकारले पुरात्व विभाग मार्फत चार करोड आएको थियो,’ श्रेष्ठले भने,‘पैसाको अभावले काम रोकिएको छैन।’

मनाकामनाका मन्दिर पुरातत्व विभागको प्राविधिकको सल्लाह अनुसार नै जीर्णोद्धार भइरहेको छ। भूकम्प अगाडि दक्षिण पश्चिममा करिब ६ इन्च ढल्किएको मन्दिर भूकम्पले थप एक फुट ढल्काएपछि जीर्णोद्धार शुरु गरिएको हो। मन्दिर जीर्णोद्धार भएपनि दर्शन गर्न आउने भक्तजनका लागि पुजा गर्ने विशेष व्यवस्था मिलाइएको छ। मनकामना मन्दिरमा दैनिक पाँच हजार भक्तजनहरुले दर्शन गर्ने गरेका स्थानीयहरुको भनाइ छ।

प्रकाशित मिति: Apr 14, 2018

प्रतिक्रिया दिनुहोस्