Logo
१५ चैत्र २०८०, बिहीबार
(April 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेहुलीझैं सिंगारियो रारा : सडक सञ्जाल जोड्न प्रधानमन्त्री ओलीले २० करोड दिने

नयाँ वर्षलाई स्वागत गर्न यतिबेला मुलुकका विभिन्न स्थानबाट पर्यटकहरु राराको आगनमा छन् । प्रधानमन्त्रीदेखि सर्वसाधारणहरु नयाँ वर्ष मनाउन रारा आइसकेका छन् । मुलुककै अति विशिष्ट पाहुनाहरु रारा रमाइरहेका छन्। पर्यटकीय विकासमार्फत् सम्वृद्धि हासिल गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारको आयोजनामा ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को शनिबार प्रधानमन्त्री केपी शर्माले ओलीले घोषणा गर्दैछन्।

यसैबीच, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार साझ कर्णाली प्रदेश मन्त्रीपरिषदको बैठक बस्यो। बैठकले कोहल्पुर सुर्खेत हिल्सा सडकलाई प्रधानमन्त्री पर्यटन लोकमार्ग निर्माण गर्ने, कर्णाली एकिृकत नमुना बस्ती निर्माण गर्ने, सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने, कर्णालीका उत्तर नाकाहरु हुम्लाको हिल्सा, मुगुको नाक्चेनांगला, र डोल्पा नाकालाई खोल्न पहल गर्ने, राराको पर्यटन विकासको गुरुयोजना निर्माण गर्ने निर्णय गरेको छ। बैठकलगत्तै निर्णयहरु प्रधानमन्त्रीलाई जानकारी गराइयो।

प्रदेश मन्त्रीपरिषदका निर्णयहरु जानकारी पाएपछि प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश सम्भावनै सम्भावनाको प्रदेश भएको बताए। ‘प्रशस्त जडीबुटी छन्। खानी, जलस्रोतको अथाह भण्डार छ उनले कर्णाली सरकारका मन्त्रीहरुलाई सम्बोधन गर्दै भने, तपाईंहरुले जे जे माग राख्नुभएको ती मागमा केन्द्र सरकार सकारात्मक छ।’ उनले नया ढंगले काम गर्न र, नयाँ ढंगले योजना बनाउन निर्देशन दिए।

रु २० करोड उपलब्ध गराइने जानकारी
प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक, सांस्कृतिक र जैविक विविधताले भरिएको डोल्पाकोे विकासका लागि सबैभन्दा पहिला राष्ट्रिय सडक सञ्जालमा जोडिनुपर्ने बताए ।

नयाँ वर्षसँगै शुरु हुन लागेको ‘कर्णाली रारा पर्यटन वर्ष’को उद्घाटनका लागि मुगु जाने क्रममा डोल्पा आइपुग्नुभएका प्रधानमन्त्री ओलीले डोल्पालाई चालु आवभित्रै सडक सञ्जालमा छिटोभन्दा छिटो जोड्नका लागि रु २० करोड उपलब्ध गराइने जानकारी दिए ।

यार्सागुम्बा, पाँचऔँलेलगायत बहुमूल्य जडीबुटीको स्वदेशमै स्थायी उत्पादन प्रशोधन र खेती गर्न सके डोल्पाले अझ आर्थिक फाइदा लिन सक्ने बताउँदै उनले हावापानी सुहाउँदो बेमौसमी तरकारी खेती, स्याउ, ओखर अङ्गुरलगायतको बहुआयमिक फाइदाजनक खेतीबाट यहाँको जीवनस्तर माथि उठाउन सकिनेमा जोड दिए ।

असुरक्षित ठाउँमा बसेका जनतालाई एकीकृत बस्तीका रुपमा विकास गरी सुरक्षित स्थानमा सार्ने योजनामा सरकार रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले दुर्गमका जनताले यातायातको अभावमा अकालमा मृत्युवरण गर्न नपरोस् भनेर कर्णालीका सबै स्थानीय तहमा हेलीप्याडको व्यवस्था गरिने र कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट सबै जिल्लामा नियमित हवाई सेवाको व्यवस्था गरिने बताए ।

८ बजे राराबाटै नयाँ वर्षको शुभकामना सन्देश
प्रधानमन्त्री ओलीले शनिबार बिहान ८ बजे राराबाटै नयाँ वर्षको शुभकामना सन्देशका साथै देशबासीका नाउमा सम्बोधन गर्दैछन्। प्रधानमन्त्रीसँगै रक्षामन्त्री ईश्वर पोखरेल, शिक्षामन्त्री गिरिराजमणी पोखरेल, पर्यटन मन्त्री रवीन्द्र अधिकारी, एमाले नेता सुवास नेम्वाङ, माओवादी नेता जनार्दन शर्मा रारा आइपुगेका छन्।

पर्यटन वर्ष उद्घाटनको तयारी पुरा भएको छ। पर्यटकहरुको स्वागतमा रारा बेहुलीझैं सिंगारिएको छ। प्रदेश प्रमुख दुर्गाकेशर खनाल, प्रदेश मन्त्रीहरु, प्रदेश तथा संघीय सांसदहरु, प्रदेश मन्त्रालयका कर्मचारीहरु, स्थानीय जनप्रतिनिधि, सर्वसाधारणहरु रारा आइसकेका छन्। प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले स्वागतद्वार, मञ्च, अतिथि व्यवस्थापन लगायतका सबै तयारीहरु पुरा भइसकेको जानकारी दिए।

प्रदेश सरकारको निमन्त्रणमा यहाँ आउने आगन्तुकहरुलाई आवासका लागि टेन्टको व्यवस्था गरिएको छ। पर्याप्त होटल नहुँदा करिब डेढ सय टेन्ट बनाइएको छ। ‘पर्यटन वर्षकै सुरु दिनमा पाहुनालाई खाना, बस्नको दु:ख नहोस् अस्थायी होटल सञ्चालनमा ल्याइएको छ’ मन्त्री बुढाले भने, ‘पर्यटकका लागि सहज रुपमा रारा आउन आवश्यक पूर्वाधारको तीव्र गतिले विकास गर्नेछौं। पर्यटकलाई रारा आउँ–आउँ लाग्ने गरी पूर्वाधार विकासमा जोड दिँदैछौं।’

प्रधानमन्त्रीसहित विशिष्ट पाहुनाहरुका लागि निकुञ्ज सुरक्षार्थ श्रीदल गुल्मले खाना, आवास व्यवस्थापनको जिम्मा लिएको छ। प्रदेश मन्त्रीहरुलाई निकुञ्जभित्र रहेको भिलेज हेरिटेज रिर्सोटमा बस्ने व्यवस्था मिलाइएको छ। सांसदहरु, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी लगायतलाई टेन्टमा राखिएको छ।

वल्डलिंकले इन्टरनेट सेवा
त्यस्तै, पर्यटकको सुविधाका लागि वल्डलिंकले इन्टरनेट सेवा उपलब्ध गराएको छ। पाहुनाको स्वागतका लागि मुगुको स्थानीय झाँकी देखाउनुका साथै देउडा, रत्यौली प्रस्तुत गरियो। ताल परिसर घुम्नेहरुका लागि घोडाको व्यवस्था पनि मिलाइएको छ। रारामा आवश्यक सुरक्षाका लागि चार वटै सुरक्षा निकाय परिचालित छन्।

कर्णाली प्रदेश सरकारको पहिलो बैठकले नयाँ वर्षका अवसरमा प्रमुख पर्यटकीय स्थल मुगुको राराताललाई केन्द्रमा राखेर ‘पर्यटन वर्ष’ मनाउने निर्णय गरेको थियो। ‘कर्णाली समृद्धिको आधार : पर्यटनको विकास र पूर्वाधार’ भन्ने नाराका साथ पर्यटन वर्ष मनाउन लागिएको हो। प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार सम्बोधन लगत्तै प्रधानमन्त्री हुम्लाको हिल्सा नाका अवलोकनमा जानेछन्।

११ बजे पुन: रारा फर्केर प्रधानमन्त्रीले बोटिङसमेत गर्ने कार्यक्रम छ। १२ बजे ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ को घोषणा गरेर दिउँसो २ बजे जुम्ला प्रस्थान गर्नेछन्। जुम्लामा उनकै अध्यक्षतामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक बस्नेछ। प्रधानमन्त्री ओलीले स्थानीय जनप्रतिनिधिसंग भेटघाट गर्नुका साथै विद्यालय भर्ना अभियानको प्रारम्भ गर्ने कार्यक्रम छ। जस अन्तर्गत बालबालिकालाई स्कूलमा भर्ना गर्नेछन्।

 

 

 

प्रकाशित मिति: Apr 13, 2018

प्रतिक्रिया दिनुहोस्