Logo
१३ बैशाख २०८१, बिहीबार
(April 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोस्रो जनान्दोलनको स्मरणमा पोखरेल र बुढाथोकीलाई स्रष्टा सम्मान

काठमाडौं : लोकतान्त्रिक साहित्यिक आन्दोलनमा स्रष्टाहरुले खेलेको भूमिकाको स्मरण र खबरदारीका लागि स्थापित ‘स्रष्टा चैत्र ३०’ संस्था ले आज साहित्यकारद्वय मातृका पोखरेल र वियोगी बुढाथोकीलाई सम्मान गरेको छ ।
शिल्पी थिएटरमा आयोजित कार्यक्रममा वरिष्ठ कवि एवं तत्कालीन लोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मञ्चका संयोजक वैरागी काइँलाले सो सम्मान प्रदान गरे ।

दोस्रो जनआन्दोलनका समर्थनमा आरोहण गुरुकुलमा सभा गरी २०६२ चैत ३० गते पुरानो बानेश्वरको सडकमा कविता वाचन भइरहेका बेला प्रहरीले दमन गरेको दिनलाई स्रष्टा आन्दोलन दिवस मानी ‘स्रष्टा चैत्र ३०’ स्थापना भई सम्मान र अन्य कार्यक्रम हुँदै आएको छ ।

सो अवसरमा कवि काइँलाले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि स्रष्टाहरुले दिएको योगदानलाई भुल्न नहुने बताए ।
सम्मानित व्यक्तिबारे आरएम डङ्गोल र नारायण चालिसेले पोखरेल र बुढाथोकीले सिर्जना र संगठनका माध्यममा लोकतन्त्र र परिवर्तनका लागि योगदान दिनुभएको उल्लेख गर्नुभयो । ‘स्रष्टा चैत्र ३०’ का अध्यक्ष मनोज न्यौपानेले लोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मञ्च जस्तो संस्थाको आवश्यकता अहिले पनि रहेको औँल्याए ।
प्राज्ञको मर्यादाक्रम घटेकामा चिन्ता

कार्यक्रममा सहभागीले नेपाल प्रज्ञा–प्रतिष्ठानसहित तीन प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी र प्राज्ञको मर्यादाक्रम घटाइनाले राज्यले स्रष्टाहरुलाई उपेक्षा गरेको देखिएको जनाउँदै तत्काल सच्याउन माग गर्ने प्रस्ताव पारित गरेका छन् । अघिल्लो सरकारले बनाएको मर्यादाक्रममा प्रतिष्ठानका कुलपतिहरुलाई सहायकमन्त्रीसरह राखिएको छ । त्यसअघि कुलपतिहरुलाई राज्यमन्त्री सरह राखिएको थियो ।

प्रकाशित मिति: Apr 13, 2018

प्रतिक्रिया दिनुहोस्