Logo
१५ चैत्र २०८०, बिहीबार
(April 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीको कार्यशैलीप्रती माओवादी सशंकित : वैशाख ९ गते एकता घोषणा संभावना न्यून

काठमाडौं : कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता घोषणा तत्कालका लागि टर्ने संकेत देखिएको छ । खासगरी सचिव सरुवा र भारत भ्रमणको तयारीमा प्रमुख सत्ता साझेदार रहेको आफ्नो पार्टीलाई बेवास्था गरिएको माओवादीको गुनासो छ ।

शीर्ष नेताहरूले (२२ अप्रिल) वैशाख ९ मै पार्टी एकता गर्ने बताएपनि दोस्रो तहका नेताहरूले सो मितिमा एकता नहुने अवस्था आएको संकेत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट बनेको माओवादी एमालेप्रति सशंकित देखिएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वैशाख ९ मै पार्टी एकता गर्ने पक्षमा देखिए पनि दोस्रो तहका नेताहरूले प्रमण्डमाथि दबाब बढाएका छन् । प्रचण्डले बिहिवार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै वैशाख ९ मै पार्टी एकता हुने बताएका थिए ।

पार्टी एकता गर्ने भन्दै एमाले र माओवादीले गत असोज १७ गते चुनावी तालमेलको घोषणा गरेका थिए । संयुक्त घोषणापत्र बनाएर चुनावमा गएका दुई दलले फागुन ७ गते पार्टी एकता गर्ने सैद्धान्तिक सहमति पनि गरेका थिए ।माओवादीका अर्का नेता मणि थापाले सचिव सरुवा, भारत भ्रमण लगायतका कतिपय विषयले गर्दा आशंका बढेको बताए ।

नेकपा एमालेका नेताहरू भने सकेसम्म वैशाख ९ मै एकता घोषणा हुने बताउँछन् । ‘माओवादी साथीहरूले कुनै आशंका नगरे हुन्छ, पार्टी एकतामा हामी प्रतिवद्ध छौं,’ एमालेका ती नेताले भने । पार्टी एकताका लागि माओवादीले केन्द्रदेखि तलसम्म ५० प्रतिशतको हिस्सा दाबी गरेको छ ।

शुरुमा ७०/३० को अनुपातमा कुरा गरेको एमालेले भने माओवादीलाई ४० प्रतिशत दिन सकिने बताउँदै आएको छ । पार्टी एकताका लागि दबाब दिन भन्दै दुई पार्टीका भातृ संगठनहरूले भने संयुक्त बैठक र भेला आयोजना गर्दै आएका छन् ।

प्रकाशित मिति: Apr 13, 2018

प्रतिक्रिया दिनुहोस्