Logo
२७ आश्विन २०८१, आईतबार
(April 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माछा मार्न पाउनुपर्ने भन्दै बोटे समुदायको आन्दोलन कार्यक्रम सार्वजनिक

नवलपरासी : पूर्वी नवलपरासीको राष्ट्रिय निकुञ्ज क्षेत्रबाट प्रभावित बोटे समुदायले माछा मार्न पाउनुपर्ने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । परम्परागत रुपमा जीविकोपार्जन गर्दै आएको समुदायलाई राज्य पक्षले सहयोग गर्नुपर्ने मध्यवर्ती क्षेत्र जनअधिकार महासंघका केन्द्रीय उपाध्यक्ष एवं माझी मुसहर बोटे कल्याण सेवा समिति नवलपरासीका अध्यक्ष लालबहादुर बोटेले बताउनुभयो ।

माझी, मुसहर बोटे तथा आदिवासी समुदायलाई विनाशर्त कानूनतः व्यवस्था गरिएको जंगली सागसिस्नु र कन्दमूल संकलन तथा माछा मार्नका लागि सहज वातावरण मिलाउनुपर्ने उनीहरुको माग छ । गत फागुनमा दुई बोटेलाई निकुञ्ज प्रशासनले नारायणी नदीमा माछा मार्ने क्रममा पक्राउ गरेपछि उनीहरु आन्दोलित भएका हुन् । उनीहरुले आन्दोलनका क्रममा नवलपरासीमा रहेका सात मध्यवर्ती उपभोक्ता समिति र एक मध्यवर्तीबाट सञ्चालित सहकारीमा तालाबन्दीसमेत गरिदिएका छन् ।

निकुञ्जले अभियुक्त दुई जनालाई रु पाँच पाँच हजार धरौटीमा रिहा गरेको छ भने दुई दिनअघि माछा मार्दै गरेका बाबुछोरालाई नियन्त्रणमा लिएको छ । निकुञ्ज प्रशासनले उनीहरुले तियारी जाल प्रयोग गरेको र गस्तीमा रहेको सेनामाथि अपशब्द प्रयोग गरेका कारण नियन्त्रणमा लिएको जनाएको छ ।

बिदा कटौतीप्रति असहमति
सार्वजनिक बिदालाई नेपाल सरकारले खारेज गरेकामा असहमति जनाउँदै नेपाल आदिवासी जनजाति महासंघलगायत विभिन्न जातीय संघसंगठनले जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीमा मङ्गलबार सामूहिक रुपमा ज्ञापनपत्र बुझाएका छन् ।

देश विकास र राष्ट्रिय एकताका नाममा आदिवासी जनजातिको पर्व माघी, माघेसंक्रान्ति, उधौली, उभौली, तमु ल्होसार, सोनाम ल्होछार, ग्याल्पो ल्होछारलगायतका नाममा सबैलाई दिइएको सार्वजनिक बिदा कटौती गर्ने सरकारको निर्णयप्र्रति असहमति प्रकट गरिएको ज्ञापनपत्रमा उल्लेख छ । (रासस)

प्रकाशित मिति: Apr 11, 2018

प्रतिक्रिया दिनुहोस्