Logo
२८ आश्विन २०८१, सोमबार
(April 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषद बैठक : भावी जनपद तथा सशस्त्र प्रहरी महानिरिक्षक बारे कुनै निर्णय भएन

काठमाडौं : वर्तमान प्रहरी महानिरीक्षक प्रकाश अर्याल विदा हुन ३६ घन्टा बाँकी रहँदा सरकारले मंगलबार नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक चयनको विषय टुंगाे लगाएन । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान साढे ९ बजेदेखि करिब साढे दुई घण्टासम्म बसेको मन्त्रिपरिषदले महानिरीक्षक नियुक्तिलाइ टुंग्याउने अपेक्षा गरिएकाे थियाे ।

कानून मन्त्री शेरबहादुर तामाङका अनुसार महानिरीक्षक चयनका लागि मंगलबार साँझसम्म वा बुधबार बिहान मन्त्रिपरिषद् बैठक बस्नेछ । उनले भने ‘अहिलेको बैठकमा महानिरीक्षक चयनको बिषय उठेन भरे वा भोलि फेरि बैठक डाक्ने सम्भावना छ ।’

दुवै प्रहरी संगठनका महानिरीक्षकले बुधबार मध्यरातबाट ३० वर्षे सेवाहदका कारण अनिबार्य अवकाश पाउँदैछन्। चेन अफ कमान्डमा चल्ने दुवै फाैजी संगठन त्यसपछि नेतृत्वबिहीन हुनेछन् । नेपाल प्रहरीबाट डिआईजीत्रय सर्वेन्द्र खनाल, रमेशप्रसाद खरेल र पुष्कर कार्की तथा सशस्त्रबाट शैलेन्द्र खनाल र पुष्पराम केसीमध्ये एक एक जना महानिरीक्षक चयन हुनेछन् ।

त्यस्तै, मन्त्रिपरिषद बैठकले विद्यालयमा विद्यार्थी भर्नाको संख्यालाई वृद्धी गर्न सरकारले ल्याएको ‘एक व्यक्ति, एक भर्ना’ अभियानलाई सघाउन आग्रह गर्ने निर्णय गरेको छ ।

नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद वाँस्कोटाका अनुसार बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव राजीव गौतमलाई कानुन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ । यस्तै गौतमको स्थानमा सहसचिव डिल्लीराज घिमिरेलाई सचिवमा बढुवा गरी प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय गरिएको छ ।

यस्तै बैठकले नेपाल प्रहरीको महानिरिक्षक र सशस्त्र प्रहरीको महानिरिक्षकको चयन गर्न सक्ने अनुमान गरिएपनि सो विषयमा भने केही पनि निर्णय नभएको बताइएको छ ।

प्रकाशित मिति: Apr 10, 2018

प्रतिक्रिया दिनुहोस्