स्वदेश फर्किएपछि प्रम ओलीले भने, ‘भारतसँगको सम्बन्ध अब बिग्रिदैन’
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण सफल र दुई देशको सम्बन्ध मजबुत बनाउने दिशामा सकारात्मक बनेको बताएका छन् । भारतको तीन दिने राजकीय भ्रमण सकेर आइतवार साँझ स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले नेपालका सबै समस्याको समाधानका लागि पहल गरेको बताएका छन् । नेपाली जनताको नयाँ अभिमतअनुसार आफू प्रस्तुत भएको र भारतले त्यसको सम्मान गरेको उनको भनाई थियो ।
प्रधानमन्त्री भ्रमणको बारेमा जानकारी दिंदै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भ्रमण फलदायी भएको बताए । विगतमा भएका सहमति र सम्झौता कार्यान्वयन गर्न, कृषि, जलमार्ग र रेलमार्गका विषयमा सहमति भएको, महाकाली सन्धि अनुसार नेपालले तत्काल पाउनुपर्ने सिञ्चाई लगायतका सुविधाहरु अगाडि बढाउन, सीमापार रेल, एकिकृत चेकपोष्ट, हुलाकी राजमार्ग, पुनर्निर्माण र नेपालका प्राथमिकताका क्षेत्रमा थप पहल गरिएको बताइएको छ । व्यापार घाटा, गयास बुलेटको समस्या, लगानी प्रबद्र्धन र अन्य समस्या न्यूनीकरणका लागि दुई पक्षबीच निरन्तर छलफल गरी काम गर्ने भनिएको छ ।
प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा दुई देशको सम्बन्ध थप उचाईमा पुगेको बताए । आफूले भारतसँग नेपालको तर्फबाट सबै कुरा राखेको बताएका छन् । पत्रकारहरुले भारतीय नोट प्रकरण, पञ्चेश्वर, थप हवाईमार्गको अनुमतिजस्ता विषयमा केहि पनि उल्लेख नगरेको प्रश्नको उत्तर दिंदै ओलीले लिखितमा आएका विषयबस्तु लिखित रुपमै आएको र अन्य समस्या लिखित नभएपनि समाधानका लागि भारतीय पक्षले काम अगाडि बढाएको बताए । अब सम्बन्धहरु उछाल्न होईन समाधान गर्ने दिशामा अगाडि बढेको र सकारात्मक भएर वार्ता गरेको ओलीले बताए । आफूले सम्बन्ध बिगारेर नआएको र अब नबिग्रिने पनि उनको भनाई थियो ।
आफूले भारतीय समकक्षी मोदीलाई नेपालले भोगिरहेका समस्याको बारेमा जानकारी गराएको र उताबाट तत्कालै समस्या समाधानको पहल थालिएको उनको भनाई थियो । टनकपुरको डेढ किमि सडकदेखि पञ्चेश्वरलगायत अन्य विषयमा ध्यानाकर्षण गराएको र उताबाट सिधै काम अगाडि बढाउन निर्देशन समेत दिइसकेको जानकारी आफूले पाएको ओलीले बताए । प्रम ओलीले भारत नेपालमा देखिएका सबै समस्या समाधान गर्न तत्पर रहेको बताएका छन् ।
‘पुराना कुराहरु गंभिरताकासाथ उठाएको छु, विवाद देखिएका विषयमा छिटो समाधान गर्ने दिशामा भारत अगाडि बढेको छ’, ओलीले भने, ‘यो भ्रमणका क्रममा दुबै देशको सम्बन्ध सकारात्मक ढङ्गले पारस्परिक लाभका आधारमा अगाडि बढ्न तयार भएका छौं ।’
शुक्रवार नयाँ दिल्ली गएका प्रधानमन्त्री ओलीले उच्च स्तरीय भेटघाटका साथै भारतीय समकक्षी नरेन्द्र मोदीसँग दुई पटक भेटवार्ता गरेका थिए । दुई देशका प्रतिनिधिमण्डलसँगै प्रधानमन्त्रीद्वयले नेपाल भारतबीच विभिन्न विषयमा छलफल गरेका थिए । यसै क्रममा नेपाल भारतबीच तीन नयाँ सम्झौता भएको छ भने वीरगञ्जको एकिकृत जाँच चौकीको उद्घाटन र मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाईनको शिलान्याश भएको छ ।