Logo
७ बैशाख २०८१, शुक्रबार
(April 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी दल-बल सहित प्रधानमन्त्री ओली भारत जाँदै, ५१ जना सम्मको टोली प्रस्ताव

काठमाडौं :  प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमण गर्ने ‘डेलिगेसन’ टोली ४२ देखि ५० जनासम्मको हुने भएको छ । टोलीमा प्रधानमन्त्रीबाहेक तीन जना मन्त्री, नौ जना सांसद, मुख्यसचिव, परराष्ट्र सचिव, सचिव, मिडियाका प्रतिनिधि, प्रधानमन्त्रीका सुरक्षाकर्मी, उद्योगी व्यवसायीलगायत गरेर ५० जनासम्मको हुने भएको हो । यो टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार, राजनीतिक सल्लाहकार, प्रेस सल्लाहकार पनि हुनेछन् ।

यसअघि प्रधानमन्त्रीको भ्रमण टोलीमा बढीमा २५ जना हुने भनिएको थियो । प्रधानमन्त्री कार्यालयले नै बनाएको निर्देशिकामा आर्थिक मितव्ययिता कायम गर्न भन्दै उच्च स्तरीय भ्रमण टोली बढीमा २५ जनासम्मको हुने व्यवस्था गरिएको हो । तर, प्रधानमन्त्री ओलीको यस पटकको भ्रमणमा निर्देशिका विपरीत भ्रमण टोलीको सङ्ख्या बढाउन लागिएको बताइएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको टोलीमा पर्न धेरैले चाहाना राख्ने भएकाले सङ्ख्या बढ्न पुगेको हो । यद्यपि परराष्ट्र मन्त्रालयले भने उक्त टोलीमा बढीमा ४२ जनाको नाम मात्रै प्रस्ताव गरेको छ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा प्रस्ताव गरेका नाम मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि भ्रमण टोलीको टुङ्गो लाग्ने गर्छ । प्रधानमन्त्री कार्यालय उच्च स्रोतका अनुसार मन्त्रालयबाट प्रस्तावित नाममाथि प्रधानमन्त्री कार्यालयले संशोधन गरेर घटाउन या बढाउन सक्ने भएकाले प्रस्तावित नामहरूमा केही थपेर ५० जनासम्म पुग्न सक्ने देखिएको छ ।

प्रधानमन्त्री केपी ओली, भौतिक योजना तथा पुनर्निर्माण मन्त्री रघुवीर महासेठ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग मन्त्री मात्रिका यादव छन् । त्यस्तै प्रधानमन्त्रीको भ्रमण टोलीमा नौ जना सांसद परेका छन् । सांसदहरू शरदसिंह भण्डारी, गणेशसिंह ठगुन्ना, रामवीर मानन्धर, रामेश्वर यादव, विमलप्रसाद श्रीवास्तव, सीताराम महतो, उमा रेग्मी, दिनानाथ शर्मा र शान्ता चौधरी रहेका छन् ।

त्यस्तै मुख्यसचिव लोकदर्शन रेग्मी, परराष्ट्र सचिव शङ्करदास वैरागी र परराष्ट्र मन्त्रालयकै चिफ अफ प्रोटोकल दीपक अधिकारी प्रधानमन्त्रीको भ्रमण टोलीमा भारत जाने छन् । त्यस्तै, सचिव चन्द्रकुमार घिमिरे, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, डा. राजन भट्टराई, प्रेश सल्लाहकार डा. कुन्दन अर्याल पनि भ्रमण टोलीमा परेका छन् ।

त्यस्तै प्रधानमन्त्रीको टोलीम नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठसहित नौ जना व्यापारी पनि प्रमको भ्रमण टोलीमा परेका छन् । चेम्बरबाट अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष दीपक मल्होत्रा, इच्छाराज तामाङ तथा व्यापारीहरू नरेश श्रेष्ठ, भाष्करराज कर्णिकार, निरज राई, भिमलाल पौडेल, डा. अन्जान शाक्य र उर्मिला श्रेष्ठ रहेका छन् ।
यसबाहेक नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घको टोली पनि सहभागी हुनेछ ।

प्रकाशित मिति: Apr 4, 2018

प्रतिक्रिया दिनुहोस्