Logo
६ बैशाख २०८१, बिहीबार
(April 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेसलाई अवमूल्यन गरे, मुलुकलाई अगाडि बढ्नदिन्नौं : उपेन्द्र यादव

राजविराज : तराई/मधेसलाई राज्यले अझैपनि पुरानै मानसिकताबाट दृष्टिगत गरी अवमूल्यन गर्न खोजे मुलुक अगाडि नबढ्ने संघीय समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यक्त गरेका छन् । ‘सिंगो तराई मधेसले मुलुकको अर्थतन्त्र धान्न सक्ने क्षमता राखेको छ’, यादवले भने, ‘तराई/मधेस क्षेत्रमा कृषि क्रान्ति, औद्योगिक क्रान्ति, सिंचाई क्रान्ति गर्न सकियो भने यहाँबाटै मुलुकमा नविन आर्थिक क्रान्ति प्रारम्भ हुने प्रचुर सम्भावना छ, जसले मुलुकलाई सम्बृद्धिको बाटोमा अग्रसर गर्नेछन् ।’

तराई/मधेससँगको विभेद मुलुकसँगकै बेइमानी हुने यादवको भनाई छ । तराई/मधेस खाद्यानको भण्डार नै रहेको जिकिर गर्दै यादवले यहाँका कृषि योग्य भूमिलाई राज्यले उपयोगनै गर्न नसकेको बताए । संघीयता र समावेशिताको क्षेत्रमा संविधान त्रुटिपूर्ण रहेको दोहोर्‍याउँदै यादवले संविधान संशोधन सम्बन्धी आफूहरुको अजेण्डा अझै पनि कायमै रहेको स्पष्ट पारे । ‘सत्तारुढ दलका नेताहरुले पनि यस तथ्यलाई स्वीकारिसकेको अवस्था छ, यद्यपी उहाँहरूको नियत अझै बदलिएको देखिदैन’, यादवले भने, ‘संविधान संशोधन नभए आन्दोलन भइरहन्छ, विवाद उठिरहन्छ यस प्रति जिम्मेवार दलका जिम्मेवार नेताहरु गम्भीर हुनुपर्छ ।’

यादवले केन्द्र सरकारमा फोरम लगायत मधेसवादी शक्तिहरु सहभागि हुने कुरा असम्भव नरहेको वताए। ‘राजनीतिमा असम्भव केहि पनि हुँदैन, उहाँहरू(बाम गठबन्धन)सँग आफै पर्याप्त बहुमत छ, यद्यपी हामीले पनि आफ्नो समर्थन गरेका छौ’, यादवले भने, ‘सरकारमा जान हामी आतुर पनि छैनौ तर सरकारमा हाम्रो भूमिका कस्तो हुन्छ, संविधान संशोधन बारे प्रधानमन्त्री ज्यूको धारणा के छ इत्यादीबारे प्रस्ष्ट नभए सम्म हामी सरकारमा जाने मुडमा छैनौ।’ बाम गठबन्ध सरकारलाई गुण र दोषको आधारमा आफूहरूले समर्थन तथा विरोध जनाउने यादवको भनाई थियो।

‘परराष्ट्र नीति माथि पुर्नविचार गरिनुपर्छ’

चीन र भारतसँगको नेपालको परराष्ट्र नीतिमा समयानुकुल पुर्नविचार गरिनुपर्ने यादवको धारणा छ। पूर्व परराष्ट्र मन्त्री समेत रहेका यादव भन्छन्, ‘भारत विरुद्ध चाईना कार्ड र चाईना विरुद्ध भारत कार्ड खेल्ने समय अव रहेन,भारत र चीनबीच सम्बन्ध पनि सन् १९६२–१९७० जस्तो रहेको छैन, तसर्थ हामीले पनि सोहि अनुरुप आफ्नो नीति परिमार्जन गरी अगाडि बढन सक्नु पर्छ ।’

दुई छिमेकि राष्ट्र मध्यै एक अर्कालाई चिढाएर नेपालको हित कदापि हुन नसक्ने बताउँदै यादवले भने, ‘चाईनाको भारतसँग बार्षिक सयौ अरब डलर भन्दा बढिको व्यापारिक कारोबार छ, यस्तो अवस्थामा चाईनाले पनि भारतलाई चिढाउन चाहदैनन् र चाईनासँग सम्बन्ध विगारेर भारतको पनि सम्बृद्धि र विकासको वाटो सहज हुँदैनन् भने कुरा भारतीयहरु पनि राम्ररीनै बुझेका छन् ।’

दुई सम्बृद्धि छिमेकि मुलुकहरुलाई नेपालको विकासका सहयात्रिका रुपमा कसरी सम्बन्ध विकास गर्ने भन्ने तर्फ अबको नेपाली परराष्ट्र नीति बनाउनु पर्ने यादवको बुझाई छ । प्रधानमन्त्री ओलीको आसन्न भारतीय भ्रमणका क्रममा यस्ता तथ्यहरुलाई मध्यनजर गर्नुपर्ने बताउँदै यादवले दक्षिणी छिमेकिलाई विश्वासमा नलिईकन मुलुकको परराष्ट्र नीति, विकास र सम्बृद्धि सहज नहुने धारणा राखे ।

प्रकाशित मिति: Apr 1, 2018

प्रतिक्रिया दिनुहोस्