Logo
७ चैत्र २०८१, शुक्रबार
(March 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीय संसदबाट आज राष्ट्रपतिले पहिलो सम्बोधन गर्ने

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को संयुक्त पहिलो ऐतिहासिक बैठकलाई आज (बिहीबार) सम्बोधन गर्ने भएकी छिन् ।

मन्त्रिपरिषद्को यही चैत १२ गतेको बैठकले पहिलो सम्बोधनका लागि राष्ट्रपति भण्डारीलाई गरेको आग्रहअनुसार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यतालिका छ । पहिलो सम्बोधन हुने कार्यक्रमका लागि सो स्थलमा सरसफाइ, सजावट र सुरक्षाको प्रबन्धका लागि संसद् सचिवालयले सबै कार्य पूरा गरेको छ ।

निर्वाचनपछि संसद् सचिवालयले प्रतिनिधिसभाको बैठक कक्षमा दुवै सदनको संयुक्त बैठक हुँदा अट्न सक्ने गरी कुर्सी व्यवस्थापन गरेको थियो । प्रतिनिधिसभामा २७५ र राष्ट्रिसभामा ५९ सदस्य छन् । नेपालको संविधानपछि पहिलो पटक गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचन र माघ २४ मा सम्पन्न राष्ट्रियसभाको निर्वाचनबाट गठित ती दुवै सदनको संयुक्त बैठकलाई नवनिर्वाचित राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लागेको पहिलो पटक हो ।

संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्मा राष्ट्रपतिले सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई सम्बोधनमार्फत प्रस्तुत गर्ने कार्यक्रम हुँदै आएकामा संविधानको नयाँ व्यवस्थानुसार निर्वाचनपछि दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुन लागेको हो ।

राष्ट्रपतिले सबै निर्वाचन सम्पन्न गरी नयाँ सरकार गठन भएर मुुलुक स्थिरता र विकासको बाटामा लम्कन खोजेकामा बधाई दिँदै आर्थिक समृद्धिका लागि सबैमा आह्वान गर्ने बुझिएको छ । आगामी आर्थिक वर्षको सरकारको नीति कार्यक्रमका लागि आगामी अधिवेशनमा राष्ट्रपतिबाट अलग्गै सम्बोधन हुने जनाइएको छ ।

प्रकाशित मिति: Mar 29, 2018

प्रतिक्रिया दिनुहोस्