अब नक्कली समाचार दिनेलाई १० वर्ष जेल सजाय हुने
मलेसियाको सरकारले नक्कली समाचार दिनेलाई १० वर्षको जेल सजाय तोक्ने भएको छ । नक्कली समाचार विरुद्धको विद्येयक अन्तर्गत मलेसियाको सरकारले गलत समाचार प्रसारण तथा प्रकाशन गर्नेलाई १० वर्षको जेल सजाय अथवा ५ लाख रिंगिट जरिवाना वा दुवै जरिवाना ताेक्ने गरी विद्येक बनाएकाे बीबीसीले जनाएको छ ।
सोमबार संसदमा पेश गरिएको त्यस विद्येयकले हप्तादिनभन्दा पछि हुने राष्ट्रिय चुनावमा असर पार्ने जनाइएको छ । संसदमा पेश भएको विद्येकका अनुसार समाचार, त्यसमा भएको सूचना, डाटा र रिपोर्ट अनुसार आंशिक गलत वा पूर्ण गलतका आधारमा गलत समाचार छुट्याइने छ ।
कसैले जानीजानी गलत समाचार लेखेमा, बाँडेमा, छापेमा त्यस्तो व्यक्ति दोषी ठहर हुने बीबीसीमा उल्लेख गरिएको छ ।त्यस्तो नियम ब्लग, सार्वजनिक फोरम र सामाजिक सञ्जालमा पनि लागू हुने जनाइएको छ । यस्तो नियम मलेसियासँग सम्बन्धित सबै प्रकारका नक्कली समाचारमा लागू हुने जनाइएको छ ।
मलेसियासँग सम्बन्धित समाचार लेख्ने देशभित्र र देशबाहिरका कुनै पनि व्यक्ति वा संस्थालाई लागू हुने बीबीसीले उल्लेख गरेको छ । सरकारले आउँदो अगष्टमा हुने राष्ट्रिय चुनावमा मलेसियाको विपक्षी दललाई लक्षित गरी त्यस्तो विद्येक ल्याइएको भन्दै अालाेचना भएकाे छ ।