शिक्षामार्फत महिलालाई सवल गराई समाजको समृद्धि हुने : मन्त्री थापा
काठमाडौँ : महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापामगरले महिलालाई शिक्षामार्फत महिलालाई सवल गराई समाजको समृद्धि शिक्षामा हासिल गर्ने बताए ।
सोमबार डिल्लीबजार कन्या क्याम्पसको ३८औँ वार्षिकोत्सका अवसरमा उनले भने, “जबसम्म महिला शिक्षामा सबल हुँदैनन्, तबसम्म सिङ्गो समाज पनि सबल हुँदैन । समाज परिवर्तन गर्न महिलाको भूमिका महत्वपूर्ण हुने भन्दै उनले महिलालाई शिक्षा प्रदान गर्न कुनै कमी नराखिने बताए ।
मन्त्री थापाले मुलुकको विकासका लागि राज्यका सम्पूर्ण तहमा महिलाको प्रतिनिधित्व हुनुपर्ने बताए । उनले धेरै संघर्ष गरेर महिलाले आर्थिक सामाजिक अधिकार पाए पनि कार्यान्वयनको अवस्था भने नभएको उल्लेख गरे ।
मन्त्री थापाले विगतमा राजनीतिक अस्थिरताले शिक्षामा विकृति देखिएकाले अबको बहुमतको सरकारले शिक्षाका ठोस नीति ल्याई अघि बढ्नेसमेत बताए । कार्यक्रममा क्याम्पस सञ्चालन समितिका सदस्य सावित्री भुसालले महिला शिक्षालाई जोड दिएर समग्र महिलालाई समाज परिवर्तनमा लगाउनुपर्ने बताए ।
कार्यक्रममा प्रजातान्त्रिक प्राध्यापक संघ नेपालका सभापति जगत तिमिल्सेनाले क्याम्पस तहका शिक्षालाई व्यावहारिक बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा उक्त क्याम्पसका पूर्व क्याम्पस प्रमुख भोलानाथ रेग्मीले राज्यको सामुदायिक क्याम्पसप्रति एउटै नीति बनाउनुपर्ने बताए ।
कार्यक्रममा काठमाडौँ महानगरपालिका–२९ का वडाध्यक्ष कुश ढकाल, पद्मकन्या विद्यालयका प्रधानाध्यापक रीता तिवारीले शिक्षालाई सरकारले आफ्नो दायित्व सम्झेर काम गर्नुपर्ने बताए । कार्यक्रममा उक्त क्याम्पसका क्याम्पस प्रमुख अपराजिता अर्यालले महिला शिक्षाका क्षेत्रमा मुलुककै ठूलो क्याम्पस रहेकाले क्याम्पसको जग्गा नभएकाले थप भौतिक पूर्वाधार गर्नका लागि समस्या भएको बताए ।
शिक्षामा महिलाको पहुँच पु¥याउने उद्देश्यले २०३७ सालमा उक्त क्याम्पस स्थापना गरिएको थियो । अहिले स्नातकतर्फ मानविकी, व्यवस्थापन, शिक्षा संकाय र स्नातकोत्तरतर्फ मानविकी संकायमा अँग्रेजी र समाजशास्त्र तथा व्यवस्थापन संकायमा एमबिबिएस विषयमा करिब एक हजार विद्यार्थीले अध्ययन गरिरहेका छन् ।
कार्यक्रममा दीर्घसेवाबाट माधव घिमिरे र ममता सिन्हा तथा उत्कृष्ट प्राध्यापकबाट रेशराज अधिकारी र कर्मचारीबाट सुमन कार्कीलाई पुरस्कृत गरिएको थियो । यसैगरी विभिन्न संकायमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।