Logo
१३ बैशाख २०८१, बिहीबार
(February 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उत्पादन बढेसँगै जीडीपीमा सिमेण्टको योगदान ६% पुग्यो

काठमाडौं : पछिल्ला वर्षहरूमा नेपाली सिमेण्ट उद्योगमा लगानी बढेसँगै यसको उत्पादनमा समेत वृद्धि भएको छ । नेपाल सिमेण्टमा आत्मनिर्भर भइसकेको सिमेण्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुवराज थापा बताउँछन् । आगामी आवदेखि क्लिङ्करमा समेत आत्मनिर्भर बन्ने थापाले बताए । ‘नेपाली बजारमा खपत हुने क्लिङ्करमध्ये करीब ३० प्रतिशत भारतबाट आयात हुने गरेको छ । नेपाली सिमेण्ट बजार वार्षिक १० देखि १५ प्रतिशत वृद्धि भइरहेको छ,’ उनले भने ।

नेपाली बजारमा अहिले वार्षिक करीब ८० लाख टन सिमेण्ट खपत हुने गरेको छ । हाल ५० ओटा सिमेण्ट उद्योगले विभिन्न ९० ओटा ब्राण्डमा सिमेण्ट उत्पादन गरिरहेका छन् । केही उद्योग सञ्चालनका लागि पाइपलाइनमा छन् । नयाँ उद्योगले सिमेण्ट उत्पादन गर्न थाले भने नेपालबाट अन्य मुलुकका सिमेण्ट निर्यात गर्न सकिने एशोसिएशनले बताएको छ । कुनै समय बन्द हुने अवस्थामा पुगेका सरकारी स्वामित्वका हेटौंडा र उदयपुर सिमेण्ट उद्योगले पनि हाल राम्रो उत्पादन गरिरहेका छन् । साथै, वाणिज्य बैङ्कहरूले पनि चालू आवको असोजसम्म ५ अर्ब ४३ करोड रुपैयाँ सिमेण्टमा लगानी गरेका छन् ।

कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा महत्त्वपूर्ण योगदान दिनेमा सिमेण्ट महत्त्वपूर्ण उद्योग हो । नेपालमा उत्पादन हुने धेरै वस्तु तथा सेवाहरूमध्ये सिमेण्टको हाल नेपालको जीडीपीमा ५ दशमलव ६७ प्रतिशत योगदान छ । नेपालमा सञ्चालित धेरै उद्योगमा ९० प्रतिशतभन्दा बढी कच्चापदार्थ विदेशबाट आयात गर्नुपर्छ । सिमेण्ट त्यस्तो उद्योग हो, जसको उत्पादन गर्न आवश्यक ९० प्रतिशतभन्दा बढी कच्चापदार्थ स्वदेशमै पाइन्छ ।

भूकम्पपछिको पुनर्निर्माण, बढ्दो शहरीकरण, हाइड्रोपावर निर्माणमा तीव्रता तथा आगामी दिनमा हुने सडकको विस्तारका लागि ठूलो मात्रामा सिमेण्टको आवश्यकता पर्ने देखिन्छ । यसै कारण पनि विदेशी कम्पनी ठूलो मात्रामा लगानी लिएर नेपाल आउन लागेको सम्बन्धित उद्योगीहरूले बताएका छन् ।

सरकारले विस्तारै लोडशेडिङमुक्त देश बनाउने योजना बनाएको छ । जलविद्युत्को उत्पादन बढ्दै गएका कारण विदेशी कम्पनीको नेपालमा चासो बढेकोे छ । जलविद्युत्को उत्पादन बढेसँगै नेपालमा विद्युत् महशुल छिमेकी देशको तुलनामा सस्तो हुने विदेशी कम्पनीको अपेक्षा रहेको व्यवसायीहरू बताउँछन् ।

सिमेण्ट उद्योगले रोजगारी सृजनाका साथै राज्यलाई प्रशस्त राजस्व पनि उपलब्ध गराउँछन् । सिमेण्ट उद्योगमा अहिले पनि करीब २५ हजारले प्रत्यक्ष रोजगार पाएका छन् भने अप्रत्यक्ष रूपमा लाखौं व्यक्ति उद्योगसँग जोडिएको उद्यमीहरू बताउँछन् । सोही कारण अहिले सिमेण्ट उद्योगमा १ खर्बभन्दा बढी लगानी भइसकेको छ । केही वर्षभित्र नेपालको सिमेण्ट उद्योगमा हालको भन्दा बढी विदेशी लगानी आउने निश्चित भइसकेको छ । चीनको होङ्सी सिमेण्टबाट करीब ३६ अर्ब रूपैयाँ लगानी आइसकेको छ । चीनकै हुजिन सिमेण्ट, अफ्रिकाको डाङ्गोटे र भारतको रिलायन्स सिमेण्टले अबको २ देखि ३ वर्षभित्र उद्योग सञ्चालनमा ल्याउने गरी प्रक्रिया अघि बढाइरहेका छन् । पछिल्लो समय उत्पादनमूलक क्षेत्रमा भएको लगानीमध्ये सबैभन्दा बढी सिमेण्टमा देखिएको छ । अर्घाखाँची, जगदम्बा, कसमसलगायत सिमेण्ट उद्योगले क्षमता अभिवृद्धि गरिरहेका छन् । अन्य केही स्वदेशी सिमेण्ट उद्योगले २० अर्ब रूपैयाँभन्दा बढी लगानी गर्नेगरी परियोजना अघि बढाइसकेका छन् । पछिल्लो समय स्वदेशी र विदेशी दुवै सिमेण्ट उद्योगले लगानी बढाउन थालेका छन् । नेपालमा सिमेण्ट उद्योगको पर्याप्त सम्भावना देखिएका कारण लगानी बढेको व्यवसायीहरूको भनाइ छ ।

प्रकाशित मिति: Feb 23, 2018

प्रतिक्रिया दिनुहोस्