Logo
१३ बैशाख २०८१, बिहीबार
(February 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको जन्मदिन : ६७ लागे ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको आज जन्मदिन परेको छ । उनी उमेरले अब ६७ वर्ष प्रवेश गरेका छन् । जन्मदिनको अवसरमा सचिवालयले बिहीबार राति नै सरकारी निवास बालुवाटारमा जन्मदिनको केक काटेको छ ।प्रधानमन्त्री ओलीले बिहीबार राति नै पत्नी राधिकासाथ जन्मदिनको केक काटेका छन् । ओलीको जन्मदिनका अवसरमा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकले सामाजिक सञ्जाल र टेलिफोनमार्फत शुभकामना दिइरहेका छन् ।

२००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका ओली समकालिन नेताहरुमा सबैभन्दा बढी संघर्षशील नेता हुन्। उनले १४ वर्ष जेल जीवन बिताएका छन् । तेह्रथुमदेखि झापा बसाइ सरेका ओली २०२३ सालदेखि निरन्तर राजनीतिमा छन्। वैचारिक अडान र स्पष्ट विचारले ओलीको राजनीतिमा लाभहानी बराबर भएका छन् । पार्टीको तल्लो कमिटीदेखि पार्टी नेतृत्वसम्म पुगेका ओली चौथोपटक सत्तायात्रामा छन् । गृहमन्त्री, परराष्ट्रमन्त्री र प्रधानमन्त्रीको पहिलो कार्यकाल सफल रह्यो, दोस्रोपटक प्रधानमन्त्रीकोको कुर्सीमा पुगेका ओलीको परीक्षा भने हुन बाँकी छ ।

जीवनको उत्तरार्धसम्म जन्मदिन नमनाएका ओलीले समर्थकमाझ चार वर्षअघि निजी निवास बालकोटमा जमघट आयोजना गरेका थिए । जीवनभर पार्टीमा प्रतिपक्षीजस्ता रहेका ओली एकैवर्ष संसदीय दलको नेता र पार्टी अध्यक्ष भएपछि जन्मदिन मनाएको भन्दै आलोचना भएको थियो । ‘त्यसपछिका जन्मदिन उहाँकै आयोजनामा मनाइएन,’ उनी निकट एक पार्टी पदाधिकारी भन्छन्, ‘समर्थन र शुभेच्छुकले जन्मदिन मनाइदिन थाले, उहाँ सरिकसम्म हुन थाल्नुभयो ।’

नौ दिनअघिमात्र प्रधानमन्त्रीको कार्यभार सम्हालेका प्रधानमन्त्री केपी ओलीलाई भेट्न चाहनेको लर्को यतिखेर बालुवाटारमा लागेको छ ।

यसैबीच शुक्रवार भारतीय राजदूत मन्जिवसिंह पुरीले ओलीलाई भेटर जन्मदिनको बधाई दिएका छन् । ६६ औँ जन्मदिनको शुभकामना दिन भारतीय राजदूत र चिनियाँ राजदूतबीच प्रतिष्पर्धा जस्तै देखिएको छ । शुक्रबार बिहान नौ बज्नु केही मिनेटअघि सबैभन्दा पहिला चिनियाँ राजदूत बालुवाटार प्रवेश गरेकी थिइन् भने एकै मिनेटपछिि भारतीय राजदूत मञ्जीवसिंह पुरी बालुवाटार प्रवेश गरेका थिए ।

उनको जन्मदिनमा केक बोकेर शुभकामना दिन आउनेहरुको ठूलो भिड अहिले बालुवाटारमा छ । स्थायी समिति बैठक, मन्त्री छान्ने चटारो र व्यस्त कार्यतालिकाबीच प्रधानमन्त्री ओलीले केक काटेर आफ्नो जन्मदिन मनाउने बालुवाटारका एक कर्मचारीले जानकारी दिए ।

 

 

प्रकाशित मिति: Feb 23, 2018

प्रतिक्रिया दिनुहोस्