‘प्रदेशको उन्नतिका लागि सबै एकजुट हुनुपर्छ’
धनुषा : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको उन्नतिका लागि सबै एकजुट हुनुपर्ने बताए ।
बिहिबार प्रदेशसभामा विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री राउतले बाहिर जुनसुकै पार्टी भए पनि प्रदेशको उन्नतिका लागि सबैले प्रतिज्ञा गर्नुपर्ने बताए । उनले भने, ‘प्रदेशसभामा भएका दलहरु एक ठाउँमा नभए समृद्धि र विकास सम्भव हुँदैन ।’
मुख्यमन्त्री राउतले फेरि पनि पाँच ‘स’का आधारमा अघि बढ्नुपर्ने बताए । उनले बताउँदै आएको सुशासन, शिक्षा, स्वास्थ्य, सडक र सिँचाइ गरी पाँच ‘स’ लाई विशेष प्राथमिकतामा राखेर प्रदेशको विकासको खाका कोर्ने कुरालाई फेरि दोहो-याए ।