Logo
१२ बैशाख २०८१, बुधबार
(February 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले र माओवादी केन्द्रले गठन गरेका कार्यदलको संयुक्त बैठक सुरु

काठमाडौं : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले पार्टी एकताका सम्बन्धमा आवश्यक दस्तावेज तयार गर्न गठन गरेको विधान मस्यौदा तथा संगठनात्मक कार्यदल र प्रतिवेदन मस्यौदा कार्यदलको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार सुरु भएको छ । मन्त्रीहरु र मन्त्रालयको भागबण्डा र पार्टी एकताको प्राविधिक विषय टुंंग्याउन वाम एकताका लागि सहमति गरेको चार दिनपछि बसेको नेकपा एमाले र माओवादी केन्द्रका दुई कार्यदलको संयुक्त बैठकले यस्तो सहमति गरेको छ।

दुवै पार्टीका शीर्ष नेतासहित बालुवाटारमा बसेको कार्यदलको बैठकमा १५ दिनभित्र एकीकृत पार्टीको संगठनात्मक र सैद्धान्तिक आधार तयार पारिसक्न दुवै कार्यदललाई समय तोकिएको हो । सोमबार सातबुँदे सहमति गरेर पार्टी एकताको घोषणा गरेका एमाले माओवादीले मसिनो गरी संगठन, अन्तरिम विधान र एकीकृत पार्टीको सैद्धान्तिक आधार तयार पार्न माधव नेपाल र ईश्वर पोखरेलको संयोजकत्वमा दुईवटा कार्यदल गठन गरिएको छ।

बैठकमा कुन मन्त्रालय कसले लिने र ककसलाई मन्त्री बनाउने भन्ने विषयमा पनि छलफल भएको थियो। बैठकमा प्रधानमन्त्री केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित दुई पार्टीका दर्जनभन्दा बढी नेताहरु सहभागी थिए। बैठकले मन्त्रालयको अन्तिम टुंगो लगाउने जिम्मा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको छ।

ओलीले मन्त्रीहरुको संख्या २० भन्दा कम गराउने सोच राखेको भएपनि एमाले र माओवादीमा मन्त्रीका आकांक्षीहरु धेरै भएपछि मन्त्री छान्न अप्ठ्यारो परेको स्रोतले जानकारी दियो।

स्रोतका अनुसार एमालेको तर्फबाट मन्त्री बन्ने दौडमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, भीम रावल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रविन्द्र अधिकारी, कृष्णगोपाल श्रेष्ठ, छविलाल विश्वकर्मा, पद्मा अर्याल, पार्वत गुरुङलगायत छन् । यस्तै माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन, मातृका यादव, जयपुरी घर्ती, शक्ति बस्नेत र पम्फा भुसाल मन्त्रीका आकांक्षी छन्।

प्रकाशित मिति: Feb 22, 2018

प्रतिक्रिया दिनुहोस्