Logo
२ श्रावण २०८२, बिहीबार
(February 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेशका समस्याको समाधानमा सबैको भूमिकाको खाँचो

जनकपुरधाम : प्रदेश नं. २ का प्रदेशसभा सभामुख सरोजकुमार यादवले प्रदेशका समस्या र चुनौतीको समाधानमा सबैको भूमिकाको खाँचो औँल्याउनुभएको छ ।

प्रदेशसभाको पहिलो अधिवेशनअन्तर्गत पाँचौ बैठकमा आज आयोजित नवनियुक्त मुख्यमन्त्री, नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई ज्ञापन र शुभकामनाका क्रममा उहाँले सङघीयता कार्यान्वयनको चरणलाई गम्भीरतापूर्वक लिनु जरूरी छ भन्नुभयो ।

उहाँले आगामी दिनमा मुख्यमन्त्रीको विश्वासको मत, प्रदेशलाई समृद्ध बनाउने ऐन, कानूनको निर्माण, प्रदेशको राजधानी र नामाकरणलगायत विषयमा पनि सबैको सहयोगी भूमिकाको अपेक्षा छ भन्नुभयो ।

बैठकमा प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री, सभामुख र उपसभामुखलाई बधाई एवं शुभकामना दिँदै प्रदेशबाट गरिबीको अन्त्य, रोजगारी सिर्जना, कृषिलाई आधुनिकीकरण, पर्यटन प्रवद्र्धन, चुरे संरक्षण, शिक्षा र स्वास्थ्य, मिथिलाको पहिचानको रक्षा, उद्योगको स्थापना, बन्द कारखानाको पुनः सञ्चालनका लागि ध्यानाकर्षण गराउनुभएको थियो ।

बैठकमा सङ्घीय समाजवादी फोरम नेपालका प्रदेशसभा सदस्य रामआशिष यादवले अल्पसंख्यकले बहुसंख्यकमाथि शासनको अन्त्यका लागि संविधानमा संशोधन, मधेसीप्रति विद्यमान विभेदको अन्त्य, आठ जिल्लालाई पर्यटन हबका रूपमा विकास, मिथिला कलाको ग्यालरी निर्माण, कृषिमा आत्मनिर्भर बनाउने र चुरे वनलाई जीवन आधारका रूपमा विकास गर्ने योजनाको कार्यान्वयनको आवश्यकतामा जोड दिनुभयो ।

अन्य सदस्यहरू उषा कुमारी यादव र श्रीपाल साहले सत्तापक्ष र प्रतिपक्षमा नअल्झीई मधेशको समृद्धिको पक्षमा ऐक्यबद्धताको जरूरी छ भन्नुभयो ।

राष्ट्रिय जनता पार्टी नेपालका प्रदेशसभा सदस्य नवलकिशोर साहले प्रदेशमा विपन्नता अधिक भएपनि समृद्ध गर्ने आधार र कृषिमा आत्मनिर्भर बनाउन सिँचाइको व्यवस्था गर्नु जरूरी छ भन्नुभयो ।

प्रदेशसभा सदस्य परमेश्वर साह, रानीकुमारी तिवारी, सत्यनारायण मण्डल, गोविन्द बहादुर न्यौपाने र प्रमोदकुमार यादव, रामसरोज यादव, शिवचन्द्र चौधरी र राजेश्वरप्रसाद यादवले सरकारी विद्यालयको शैक्षिक अवस्थाको सुधारको पहलमा जोड दिँदै समयसापेक्ष कृषि प्रणालीको व्यवस्थापन, वीरगञ्जमा राजधानीका साथै मुआब्जाका लागि आन्लोलनरत पक्षसँग संवाद गरी समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

प्रदेशसभाको अर्को बैठक यही फागुन ९ गते दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति: Feb 17, 2018

प्रतिक्रिया दिनुहोस्