विश्वकै पाँच ठूला बजेटभित्र भारतको रक्षा बजेट
बेलायत : भारतको रक्षा बजेट विश्वकै पाँच ठूला बजेटभित्र परेको छ । लण्डनस्थित बौद्धिक संस्था इण्टरनेशनल इन्ष्टिच्यूट फर स्ट्राटेजिक स्टडिज (आईआईएसएस)ले सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो । आईआईएसएसको ‘मिलिटरी ब्यालेन्स २०१८’ अनुसार बेलायतलाई उछिन्दै भारत पहिलो पटक विश्वमै रक्षा क्षेत्रमा धेरै खर्च पाँच ठूला देशको सूचिमा परेको छ । सन् २०१७ मा भारतको रक्षा बजेट ५२ अर्ब ५० करोड डलरमा पुगेको छ । सन् २०१६ मा बजेटको आधार ५१ अर्ब १० करोड डलर थियो ।
उता, अघिल्लो वर्ष ५२ अर्ब ५० करोड डलर रहेको बेलायतको रक्षा बजेट सन् २०१७ मा घटेर ५० अर्ब ७० करोड डलरमा आएको प्रतिवेदनले देखाएको छ । रक्षा खर्चमा अमेरिका सबैभन्दा अगाडि रहेको छ । प्रतिवेदनअनुसार गत वर्ष अमेरिकाले रक्षा क्षेत्रमा ६ खर्ब २ अर्ब ८० करोड डलर खर्च गरेको थियो ।
सूचिको दोस्रो स्थानमा रहेको चीनको सन् २०१७ को रक्षा बजेट १ खर्ब ५० अर्ब ५० करोड डलर रहेको थियो । यो अघिल्लो वर्षको तुलनामा झण्डै एक चौथाई बढी हो । रक्षा खर्चको मामिलामा साउदी अरेबिया तेस्रो स्थानमा रहेको छ । गत वर्ष उसको रक्षा बजेट ७६ अर्ब ७० करोड डलर रहेको थियो । त्यस्तै चौथो स्थानमा भने रुस रहेको छ । प्रतिवेदनअनुसार गत वर्ष रुसले रक्षा क्षेत्रमा ६१ अर्ब २० करोड डलर खर्च गरेको थियो । रासस