Logo
१ श्रावण २०८२, बुधबार
(February 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली प्रधानमन्त्री भएसँगै सेयर बजारमा व्यापक सुधार

काठमाडौँ : प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएसँगै सेयर बजारमा सुधार देखिएको छ ।  ओलीको नेतृत्वमा नयाँ सरकार बनेकै दिन पुँजी बजार २.५९ प्रतिशत अर्थात ३६.०१ अंकले बढेर १४२४.९५ अंकमा उक्लिएको छ ।

सेयर बजारलाई प्रभावित पार्ने प्राविधिक तथा आधारभूत पक्षहरु यथावत रहेको बेला राजनीतिक परिवर्तनको प्रभाव शेयर बजारमा देखिएको छ। सरकार परिवर्तनको खबरले बजार बढेको लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुलेलले बताए ।

नयाँ सरकार गठन हुने र त्यो स्थायी हुने खबरले बजारमा सकारत्मक परिवर्तन भएको फुलेलको भनाइ छ । अघिल्लो पटक उनै ओली प्रधानमन्त्री भएकै समयमा नेप्सेले सर्वाधिक उचाई लिएको थियो । त्यतिबेला नेप्से परिसूचक १८८१ अंकसम्म पुगेको थियो ।

सरकारले बैंकको तरलता सहजीकरण र कालो धनलाई ब्यवस्थित गर्न ल्याउने संभावित नीतिले बजारको दिशा तय गर्ने फुलेलको भनाइ छ। सहि ढंगले ब्यवस्थापन भए नेप्सेको उचाई पहिले भन्दा माथि जाने फुलेलको आँकलन छ।

बजार लगातार घटिरहेको समयमा लगानीकर्ताले बजार बढ्ने आधार खोजिरहेको र यही समयमा भएको सरकार परिवर्तनले बजार बढेको इन्भेस्टर्स फोरमका पूर्व अध्यक्ष डा आत्माराम घिमिरेले बताए । आधारभुत कुराहरु यथावत रहेको अवस्थामा बजार बढ्नुमा सरकार परिवर्तनबाहेक अरु कुनै कारण नरहेको उनले जानकारी दिए ।

शेयर बजार मापक सूचकसँगै कारोबार रकमसमेत बढेको छ । माघ लागे यता कारोबार रकम ५० करोड रुपैयाँ नाघ्न सकेको थिएन । बिहीबार ६६ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बजारमा सबैभन्दा धेरै कुमारी बैंकको तीन करोड ४८ लाख रुपैयाँको कारोबार भयो । कारोबारमा आएका सबै उपसूचक बढेका छन् । बैंक ३१.३९, ट्रेडिङ ५.९९, होटल २२.९६, विकास बैंक ५५.५, जलाविद्युत ४९.०४, फाइनान्स १७.५५, बीमा २१३.९५, उत्पादनमूलक ५०.७५, अन्य ७.३६ र लघुवित्त ६२.९१ अंकले बढेका छन् ।

श्री इन्भेस्टमेन्ट फाइनान्सका शेयरधनीले सबैभन्दा धेरे ९.८२ प्रतिशत कमाएका छन् । एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड १ ले सबैभन्दा बढि करिब चार प्रतिशत गुमाए ।

प्रकाशित मिति: Feb 15, 2018

प्रतिक्रिया दिनुहोस्