दुई जातिबीच झडप हुँदा १३ जनाको मृत्यु
किन्सासा : प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा यहाँका दुई फरक जातिबीच भएको झडपमा परी बुधबार १३ जना स्थानीयको ज्यान गएको छ । कङ्गोको इतुरी प्रान्तको एक गाउँमा हेमा तथा लेन्डु समुदायका सदस्यबीच सो झडप भएको थियो । त्यसमा परी १३ जनाको ज्यान गएको एकजना प्रान्तीय अधिकारीले जनाएका छन् ।
यसअघि पनि गतहप्ता मात्र यी दुई जातिका बीचमा भएको यस्तै अन्तरजातीय भगडाका कारण २६ जना मारिएका थिए । त्यसपछि बुधबार फेरि यी दुई बीच ठूलो झडप भएको बताइएको छ । यस क्षेत्रमा विभिन्न जातिका बीचमा यसरी नै समय समयमा झडप हुने गरेको छ । जसका कारण यहाँ एकले अर्को जातिको हत्या गर्ने गरेका छन् । यसबाट केही वर्षयता मात्र पनि हजारौँ नागरिक मारिएका छन् ।
यो र यसै क्षेत्रको वरिपरि रहेका जिल्लाहरुमा एकले अर्को जातिमाथि आक्रमण गर्ने गरेका र यस्ता आक्रमणहरुपछि घर टहराहरूमा नै आगो लगाउने पनि गरेका छन् । गत हप्ता र बुधबारको यो झडपमा कैयौँ नागरिकको ज्यान गएपछि अहिले घटनास्थलमा ठूलो संख्यामा प्रहरी र सेना परिचालन गरिएको र स्थिति सुरक्षा नियन्त्रणमा रहेको बताइएको छ ।
उक्त क्षेत्रमा सन् २००१ र सन् २००६ मा भएका उक्त दुई समुदायबीचको हिंसात्मक द्वन्द्व कम्तिमा ६० हजार नागरिकले ज्यान गुमाएका थिए ।