Logo
११ बैशाख २०८१, मंगलबार
(February 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वायु सेवा निगमले भित्र्यायो थप दुई चिनियाँ कम्पनीका विमान

काठमाडौँ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले चिनियाँ कम्पनीका दुईवटा विमान भित्र्याएको छ ।

चीनबाट खरिद गरेर ल्याएको ‘वाइ १२ विमान मंगलबार त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । चीनको हर्बिन शहरबाट उडेका दुई विमान बंगलादेशको ढाका हुँदै दिउँसो काठमाडौं आइपुगेको निगमका प्रवक्ता रिवन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार २०६९ सालमा नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार निगमले छवटा जहाज थपेको हो । तीमध्ये चारवटा जहाज यसअघि नै आइसकेका थिए । छ वटामध्ये दुई वाई १२ र एमए ६० विमान चिनियाँ अनुदानका हुन् भने बाँकी चिनियाँ एक्जिम बैंकको सहुलियत ऋणमा खरिद गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

हर्बिन एयरक्राफ्ट इन्डस्ट्रीको उत्पादन वाई १२ को क्षमता चालकसहित १९ सिट हो । दुई वाई १२ आएसँगै निगमको आन्तरिक उडानमा आठवटा जहाज भएका छन् । प्रवक्ता श्रेष्ठले थपिएका विमान हालकै गन्तव्यमा उडान भर्ने र पछि अन्य गन्तव्यमा पनि विस्तार गर्ने योजना रहेको बताए ।

चीनबाट एक प्रशिक्षकसहित दुईजना क्याप्टेनको टोली एक महिनापछि नेपाल आउने र त्यसपछि ती जहाजको उडान भरिने निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले बताए ।

निगमले काठमाडौंबाट सिधा छ र विराटनगर तथा नेपालगञ्जबाट अन्य ११ भन्दा बढी गन्तव्यमा आन्तरिक उडान भर्दै आएको छ । अन्तर्राष्ट्रियतर्फ अहिले विभिन्न मुलुकका आठ गन्तव्यमा एक बोइङ नाइन एसिबी– ५७५ र एयरवस ए–३२० विमानबाट उडान भर्दै आएको छ ।

प्रकाशित मिति: Feb 14, 2018

प्रतिक्रिया दिनुहोस्