Logo
२७ असार २०८२, शुक्रबार
(February 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दक्षिण कोरिया र उत्तर कोरियाबीच सम्बन्ध सुधारको अपेक्षा

सोल । शीतकालीन ओलम्पिक खेलको उद्घाटनका लागि दक्षिण कोरिया पुगेको उत्तर कोरियाको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डललाई स्वागतका लागि दक्षिण कोरियाका राष्ट्रिय एकतामन्त्री विमानस्थल पुगे ।

उक्त प्रतिनिधिमण्डललाई स्वागतका लागि कुन स्तरका अधिकारी जाने भन्ने बारेमा दक्षिण कोरियाको मन्त्रिपरिषदमा छलफल भयो र मन्त्रीस्तरकै व्यक्तिबाट स्वागत गर्ने निर्णय पनि भयो । सोही बमोजिम दक्षिण कोरियाका राष्ट्रिय एकतामन्त्री विमानस्थल पुगे । उनको यो स्वागत कार्यक्रमको सबैजसो सञ्चारमाध्यमहरुले समाचार दिए र यहाँका टिभीहरुले त्यसको फुटेज पनि देखाए ।

शुक्रबार उद्घाटन भएको शीतकालीन ओलम्पिक खेलको उद्घाटन समारोहमा उत्तर कोरियाको तर्फबाट किम योङ नाम पुगेका छन् । उहाँ उत्तर कोरियाको संसदका प्रमुख हुन । उक्त प्रतिनिधिमण्डलमा उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी पनि रहेको छ । उहाँ उत्तर कोरियाली सत्तारुढ वर्कस् पार्टीको केन्द्रीय समितिको उपनिर्देशक हुन ।

उच्चस्तरीय प्रतिनिधिमण्डलले शनिबार बिहान दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनसँग भेट गरेको छ । यस भेटलाई दुवै देशका मिडियाले प्रचार गरेका छन् । यी दुई कोरियाको इतिहासमा यति उच्च तहको सरकारी प्रतिनिधिमण्डलबाट गरिएको यो धेरै लामो समयपछिको भ्रमण हो ।

यस भेटका बारेमा उत्तर कोरियाले पहिले नै कुनै समाचार दिएको थिएन । तर उसले अमेरिकासँग हुने भनेको भेटको बारेमा भने पहिले नै अस्वीकार गरेको थियो । यो भेट सन् २००९ पछि उत्तर कोरियाको तर्फबाट भएको यो स्तरका पहिलो भेट हो । यसले उनीहरुबीचको भेटका क्रममा भएको कुनै कुराकानी भन्दा पनि पहिलो महत्वपूर्ण काम भन्ने भएको छ ।

त्यस भेटका क्रममा दक्षिण कोरियाली राष्ट्रपतिलाई उत्तर कोरियाली राष्ट्रपतिका तर्फबाट उत्तर कोरियाको भ्रमणका लागि निमन्त्रणा दिइएको थियो । उत्तर कोरियाली नेता किमका तर्फबाट उनकी बहिनीले सो निमन्त्रणा दिए । दक्षिणका राष्ट्रपति इनले उत्तरको भ्रमण गर्ने, नगर्ने वा कहिले गर्ने भन्ने बारेमा कुनै प्रतिक्रिया त दिएको छैन ।

तर पनि आजसम्म शत्रुतापूर्णजस्तै अवस्था रहेका यी दुई देशका बीचमा राष्ट्रपतिस्तरमा नै भ्रमणका लागि यो आमन्त्रण गरेकोले सम्बन्ध सुधारमा आशा जगाएको भने धेरैले बताएका छन् । आइतबारसम्म दक्षिण कोरियामै रहने उक्त प्रतिनिधिमण्डलका नेता नामले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेससँग पनि गत शुक्रबारै संक्षिप्त भेट गरेका थियो ।

संयुक्त राष्टसंघका उपप्रवक्ता फराहन हकले उक्त भेटवार्तामा कुनै कुराकानी नभएको भए पनि यो भेटलाई महत्वपूर्ण भनेका छन् । विगत लामो समयपछि भएको यस भेटघाटबाट दुई कोरियाबीचमा सम्बन्ध सुधार हुने अपेक्षा गरिएका कोरिया र अन्य विदेशी मिडियाले पनि विश्लेषण गरेका छन् ।

प्रकाशित मिति: Feb 11, 2018

प्रतिक्रिया दिनुहोस्