Logo
१३ बैशाख २०८१, बिहीबार
(February 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फागुन दोस्रो हप्ता सत्ता हस्तान्तरण हुनेछ : शर्मा

विराटनगर : कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले फागुन दोस्रो हप्तासम्म कांग्रेसले सत्ता हस्तान्तरण गर्ने बताएका छन् । प्रेस युनियनले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भइसकेकाले अब केही प्रक्रिया पूरा गरेर प्रधानमन्त्री देउवाले फागुन दोस्रो हप्तासम्म नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएका हुन् ।

शर्माले राष्ट्रिय सभामा सबै मुख्य राष्ट्रिय दलको सहभागिता सुनिश्चत भएकाले राष्ट्रिय सभा प्रतिपक्षविहीन हुनबाट जोगिएको बताए । पिछल्लो समय सरकारले गरेको निर्णयलाई सान्दर्भिक भन्दै शर्माले निर्वाचन आचारसंहितालगायत विभिन्न कारणले कांग्रेस नेतृत्वको सरकारले बजेट भाषण गर्दा धेरै काम गर्न नपाएकाले जाँदाजाँदै थप निर्णय गर्नुपरेको प्रस्टीकरण दिए । उनले भने, ‘वर्तमान सरकारले गरेको निर्णय आगामी सरकारलाई मन नपरेमा उल्टाउन सक्छ ।

तर, जाँदाजाँदैको सरकारले गम्भीर निर्णय गरेको भन्दै आलोचना गर्नु जरुरी छैन ।’ कांग्रेसले वृद्ध भत्ताको उमेर घटाएर मुलुकमा व्ययभार थप्ने मात्र नभएर विगतमा आय थप्ने काम पनि गरेको उनले बताए । अब केही दिनमै कांग्रेस केन्द्रीय समितिको बैठक बस्ने र त्यसले सभापतिको राष्ट्रिय भेला र महासमिति बैठकको मिति तय गर्ने शर्माले जानकारी दिए । उनले भने, ‘विशेष अधिवेशन विधानअनुसारको माग हो, यसैले पार्टीको प्रवक्ताले महासमितिको बैठक बोलाउन हुँदैन भन्न मिल्दैन ।’

सभापतिको राष्ट्रिय भेलाको सुझाबअनुसार महासमिति बैठकले नयाँ संरचनाअनुसार विधान संशोधन गरेर विशेष महाधिवेशन आह्वान गर्ने र त्यो महाधिवेशनले एउटा ठोस एजेन्डामा विशेष निर्णय गर्ने शर्माको भनाइ थियो ।

प्रकाशित मिति: Feb 8, 2018

प्रतिक्रिया दिनुहोस्