संकटकालपछि माल्दिभ्समा न्यायाधीशहरू प्रहरीको नियन्त्रणमा
राजनीतिक संकट चुलिँदै गएका बेला माल्दिभ्सको प्रहरीले देशका प्रधानन्यायाधीशलाई नियन्त्रणमा लिएको छ ।सरकारले संकटकाल घोषणा गरेको केही घण्टामा प्रधानन्यायाधीश अब्दुल्लाह साइद र अर्का न्यायाधीश अलि हामिद पक्राउमा परेका हुन् । उनीहरूमाथि लगाइएको अभियोगबारे कुनै विवरणहरू दिइएको छैन ।
अदालतले गत साता राजनीतिक बन्दीहरूलाई रिहा गर्न दिएको आदेश मान्न राष्ट्रपति अब्दुल्लाह यामीनले अस्वीकार गरेपछि पछिल्लो उथलपुथल शुरू भएको हो । विपक्षीहरूले सरकारको कदम सफाया गर्ने खालको भएको बताएका छन् ।अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्ले विश्वको दृष्टि माल्दिभ्सतर्फ रहेको भन्दै त्यहाँको सरकार र सेनालाई कानूनी शासनको सम्मान गर्न आह्वान गरेको छ ।
राष्ट्रपति यामीनले सर्वोच्च अदालतले गत महिना राजनीतिक बन्दीहरूलाई रिहा गर्न र त्यहाँको विपक्षी सांसद्हरूलाई पुनर्स्थापित गर्न दिएको आदेशको अवज्ञा गरेका छन् । गत साता सर्वोच्च अदालतले राजनीतिक बन्दीहरूको एउटा समूहलाई रिहा गर्न आदेश दिएको थियो । उसले सन् २०१५ मा पूर्व राष्ट्रपति मोहम्मद नाशीदमाथिको सुनुवाइ पनि असंवैधानिक भएको निर्णय सुनाएको थियो ।
निर्वासनमा बस्दै आएका पूर्व राष्ट्रपति नाशीद लोकतान्त्रिक रूपमा निर्वाचित भएका पहिला नेता हुन् । सन्देश
उनले यो शासनलाई गैरकानूनी भन्दै यामिनले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । सर्वोच्च अदालतको आदेशपछि देशका प्रहरी आयुक्तले आफूले त्यसको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसको प्रतिक्रियामा राष्ट्रपति यामिनले उनलाई बर्खास्त गरे ।
यो विवाद सोमबार संकटकाल घोषणा भएपछि थप चुलिएको थियो । पूर्व राष्ट्रपति माउमुन अब्दुल गायुम जसले विपक्षीसँग समझदारी गरेका छन् उनलाई घरमै बन्दी बनाइएको समाचार आएको छ । प्रहरीलाई सर्वोच्च अदालतमा पनि खटाइएको छ । माल्दिभ्सका जनताले एक अर्कालाई सुरक्षित रहन भन्दै सन्देश पठाइरहेका छन् । सन् २०१३ मा यामीनले सत्तारोहण गरेपछि माल्दिभ्समा स्वतन्त्र न्यायपालिका र अभिव्यक्ति स्वतन्त्रताबारे प्रश्नहरू उब्जिएका छन् ।बिबिसीबाट