Logo
१५ चैत्र २०८०, बिहीबार
(February 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म अधिवेशनको शुरु भएको घोषणा गर्दछु भनेपछि …!

वीरेन्द्रनगर : “म प्रदेश नं ६ को पहिलो ऐतिहासिक अधिवेशनको प्रथम बैठक शुरु भएको घोषणा गर्दछु”, सभाध्यक्ष ज्येष्ठ सदस्य हिमबहादुर शाहीको यो वाक्य उच्चारणसँगै प्रदेश नं ६ को अधिवेशन बैठक औपचारिक रुपमा शुरु भई सम्पन्न भएको छ । अपराह्न १ बजेर चार मिनेटमा संसद् बाहिरको जनाउ घण्टी बजाइएपछि ज्येष्ठ सदस्य शाहीले बैठक शुरु भएको घोषणा गर्नुभएको थियो । प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधिअनुसार सभाध्यक्ष शाहीले प्रदेश प्रमुखको बैठक आह्वान गरेको सम्बन्धित पत्र पढेर सुनाउनुभएको थियो । त्यसलगत्तै बैठकमा राष्ट्रिय गान र शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।

त्यसपछि सभाध्यक्षले चार दलबाट प्रतिनिधित्व गरेका चार सदस्यलाई पालैपालो बोल्न दिनुभएको थियो । अधिवेशनमा मन्तव्य व्यक्त गर्ने सदस्यले प्रदेश नं ६ आर्थिक रुपमा सबैभन्दा कमजोर भएकाले यसको समृद्धि र विकासका पक्षमा एक जुट भएर काम गर्नुपर्नेमा जोड दिएका थिए । नेकपा (एमाले)का यामलाल कँडेलले प्रदेश सूचांकमा पछि देखिएकाले यहाँका प्रशस्त प्राकृतिक सम्पदाको सदुपयोग गरेर समृद्ध बनाउन सकिन्छ भन्नुभयो । नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाहीले प्रदेशको मागका लागि चार जनाले शहादत प्राप्त गरेको सो प्रदेशको उन्नतिका लागि यहाँको प्राकृतिक स्रोत र साधनको भरपूर उपयोग गर्न सकिनेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका जीवनबहादुर शाही र राष्ट्रिय प्रजातन्त्र पार्टीका सोशीला शाहीले मुलुक र जनताका लागि प्रादेशिक संरचना नयाँ व्यवस्था भएकाले यसको सफलता अब जनप्रतिनिधिको काँधमा आइपुगेको छ भन्नुभयो । सदस्यको मन्तव्य सकिएपछि सभाध्यक्ष शाहीले प्रदेश सभामुखको निर्वाचनको मिति यही माघ २९ गतेलाई प्रस्ताव गर्नु भएपछि सर्वसम्मतिबाट पारित गरिएको थियो । बैठकको अन्त्यमा सभामुख शाहीले प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधि पारित गर्न प्रस्ताव राखेपछि त्यो पनि सर्वसम्मतबाट पारित भएको थियो । अर्को बैठक यही माघ २९ गते अपराह्न १ बज बस्नेछ ।

प्रदेश नं ६ को आजको पहिलो ऐतिहासिक बैठक सुर्खेत वीरेन्द्रनगरस्थित सिँचाइ डिभिजन कार्यालयको सभाकक्षमा सञ्चालन गरिएको थियो । बैठक ३७ मिनेटसम्म सञ्चालन भएको थियो । कक्ष सानो भएकाले सबै पत्रकारलाई भित्र प्रवेश दिइएन । धेरै पत्रकारले बाहिर टिभी हेरेर अधिवेशनको रिपोर्टिङ गरेका थिए । कालीकोट, जुम्ला, डोल्पा, हुम्ला, मुगु, दैलेख, जाजरकोट, सल्यान, पश्चिम रुकुम र सुर्खेत गरी १० जिल्ला प्रदेश नं ६ मा छन् । यो प्रदेशसभामा एमालेबाट २०, माओवादी केन्द्रबाट १३, काँग्रेसबाट छ र राप्रपाबाट एक गरी ४० सदस्य हुनुहुन्छ ।

प्रकाशित मिति: Feb 4, 2018

प्रतिक्रिया दिनुहोस्