भारतीय चालक दलका २२ सदस्यसहितको पेट्रोल बोकेको पानीजहाज बेपत्ता
नयाँदिल्ली : पश्चिम अफ्रिकी बेनिन्मा २२ जना भारतीय चालक दलका सदस्यसहितको एक पानीजहाज बेपत्ता भएको अधिकारीहरुले आइतबार जनाएका छन् । पेट्रोल बोकेको सो जहाजमा १३ हजार ५०० टन पेट्रोल रहेको बताइएको छ । उक्त पानीजहाज पश्चिम अफ्रिकी बेनिन्को कोतोनोउ सहरक्षेत्रको समुद्रबाट गत बिहीबारदेखि हराएको आशङ्का गरिएको समाचारमा जनाइएको छ ।
हङ्कङमा कार्यालय रहेको एङलो इस्टर्न जहाज कम्पनीले बिहीबारबाट जहाजसँग सम्पर्क टुटेको जनाएको छ । उसले खोजीका उपायहरु अवलम्बन गरिएको तर पत्ता नलागेको जनाएको छ । उक्त कम्पनीका अधिकारीहरुले आफ्नो पहिलो प्राथमिकता जहाजलाई सुरक्षित अवतरण गर्नु रहेको सो कम्पनीले ट्विटरमा लेखेको छ ।
भारतीय विदेशमन्त्रालयका प्रवक्ता रविस कुमारले भारतले नाइजेरियामार्फत बेनिन्मा सम्पर्क गरिरहेको तर जहाजको सम्पर्क सुत्र भने अहिलेसम्म पनि पत्ता नलागेको जानकारी दिएका छन् । स्थानीय सञ्चारमाध्यमहरुले पछिल्लो महिना भएको जहाज बेपत्ताको यो दोस्रो घटना भएको जनाएका छन् ।
गत जनवरीमा पनि यस्तै एक पानीजहाज बेपत्ता भएको थियो । बिहीबारबाट सम्पर्कबिहीन भएको यस जहाज सामुद्रिक डाँकुको कब्जामा रहे नरहेको बारेमा भने केही पत्ता लागेको छैन । (रासस÷एएफपी)