Logo
८ बैशाख २०८१, शनिबार
(February 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ६ : मन्त्रिपरिषद्को कार्यालय स्थापना, बैठकको तयारी पूरा

सुर्खेत : प्रदेश नं ६ को प्रदेशसभाको पहिलो बैठकको तयारी पूरा भएको छ । भोलि आइतबार २१ गतेका लागि तोकिएको पहिलो प्रदेशसभा बैठकका लागि कार्यविधि सभा स्थलको व्यवस्थापनलगायतका तयारी पूरा भएको प्रदेश सचिवालयले जानकारी दिएको छ । प्रदेशसभाको बैठकका लागि तय गरिएको सिँचाइ विभाग डिभिजनको भवन र सभाहल सजाउने, रङरोगन, गेट निर्माणलगायतका काम भइरहेका छन् । पहिलो बैठकमा पेश गरिने एजेण्डालगायतको टुंगो लागिसकेको छ । सचिवालयले शुक्रबार सर्वदलीय बैठकको आयोजना गरेर बैठकमा पेश गर्ने एजेण्डा र अर्को मितिको पनि टुंगो लगाएको जनाएको हो ।

‘प्रदेश संसद् बैठकका लागि अन्तरिम कार्यविधि पारित गर्नुका साथै सभामुख चयनका लागि दोस्रो बैठकको मिति पनि तय गरेका छौँ,’ प्रदेश संसद् सचिव सञ्जय दाहालले भने, ‘संसद् भवन र सभाकक्षको तयारी पनि अन्तिम चरणमा पुगेको छ ।’ पहिलो बैठकमा सभामुखको भूमिका ज्येष्ठ सदस्य काँग्रेसका हिमबहादुर शाहीले निर्वाह गर्नेछन् । सर्वदलीय बैठकले सचिवालयले बनाएको अन्तरिम कार्यविधि पारित गर्नुका साथै सभामुखको निर्वाचनका लागि दोस्रो बैठकको मिति पनि तय गरेको हो । दलहरुबीच भएको सहमतिअनुसार माघ २९ गते सभामुखको निर्वाचन हुनेछ ।

मन्त्रिपरिषद्को कार्यालय स्थापना

प्रदेश संसद् बैठकको मिति नजिकिएसँगै मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय स्थापना गरिएको छ । क्षेत्रीय प्रशासन भवनमा शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्थापना गरिएको हो । यस्तै प्रदेश मुख्य सचिव सुरेश प्रधान, मन्त्रिपरिषद् कार्यालयका सचिव यज्ञराज बोहरा र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव केशव आचार्यले पनि शुक्रबार पदबहाली गरेर काम शुरु गरेका छन् ।

मुख्य सचिव प्रधानले आउने बुधबारसम्म सबै मन्त्रालय स्थापना गरिने बताए । संघीय संरचनाका लागि प्रस्ताव गरिएका भवन खाली हुने क्रममा छन् उनले भने, ‘मंगलबारसम्म सबै भवन खाली गराएर मन्त्रालय स्थापना गर्छौं ।’ उनले क्षेत्रीय कार्यालय खारेज भइनसकेका र उनीहरुका कार्यक्रम पनि सञ्चालन भइरहेकाले भवन खाली गराउने काम केही ढिलो भएको बताए ।

‘क्षेत्रीय प्रशासन र क्षेत्रीय हुलाकमा प्रदेश मन्त्रिपरिषद्, मुख्यमन्त्री र प्रमुख सचिवको कार्यालय स्थापना गरिसकेका छौँ,’ उनले भने, ‘बाँकी मन्त्रालय बुधबारबाट सञ्चालनमा आउने छन् ।’ जिल्ला जनस्वास्थ्य कार्यालयमा गृहमन्त्रालय, जिल्ला भू–संरक्षण कार्यालयमा अर्थ, क्षेत्रीय कृषि र जिल्ला कृषि विकास कार्यालयमा कृषि तथा भूमि व्यवस्थापन मन्त्रालय, क्षेत्रीय सडक र डिभिजन सिँचाइमा पूर्वाधार विकास मन्त्रालय, क्षेत्रीय सिँचाइ र क्षेत्रीय सुपरिवेक्षण कार्यालयमा प्रदेश विज्ञान तथा वातावरण मन्त्रालय, क्षेत्रीय शिक्षा र पशुसेवा निर्देशनालयमा शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय रहने छन् । रासस

प्रकाशित मिति: Feb 3, 2018

प्रतिक्रिया दिनुहोस्