Logo
७ बैशाख २०८१, शुक्रबार
(February 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेटौँडामा प्रदेश नम्बर तीनको प्रदेशसभा बैठक शुरु

हेटौंडा : देश संघीय संरचनामा रूपान्तरण भएपछि प्रदेश नं ३ को पहिलो ऐतिहासिक प्रदेशसभाको बैठक हैटौँडास्थित क्षेत्रीय शिक्षा निर्देशनालयमा शुरु भएको छ । बिहीबार दिउँसो १ बजेका लागि आह्वान भएको बैठकस्थलमा सुरक्षा जाँच गरी प्रवेशको व्यवस्था मिलाइएको छ भने तोकिएका र प्रवेश पास लिएका व्यक्तिलाई मात्र प्रवेश दिइएको छ ।

प्रदेशसभाको पहिलो बैठक भएकाले तयारी र अभ्यासमा केही अलमल देखिए पनि सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिए । संघीयता लागूपछिकै पहिलो प्रदेशसभा बैठक बस्न लागेकाले बैठकस्थलमा उच्च कर्मचारी, सुरक्षाकर्मी, स्थानीय तहका प्रतिनिधि, सञ्चारकर्मीको उपस्थिति क्रमशः बढ्न थालेको छ।

ज्येष्ठ सदस्य डोरमणि पौडेलको अध्यक्षतामा बसेको आजको बैठकले प्रदेशसभाको सभामुखका निर्वाचनका लागि मिति तय गर्नेछ । यस प्रदेशसभाका कूल ११० सदस्य छन् । प्रदेश ३ को प्रदेशसभाको पहिलो बैठकको कार्यसूचीमा ‘प्रदेशसभाको अन्तरिम कार्यविधि पास गर्ने’ र ‘सभामुख चयनको प्रस्ताव’ राखिएको छ । पहिलो बैठकको सभामुखको भूमिका ज्येष्ठ सदस्य डोरमणि पौडेलले गरेका छन् ।

यसअघि दुई पटक हेटौंडा नगरपालिकाको मेयर भइसकेका ७१ वर्षीय पौडेल यसपटक प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् । बैठकको सुरुमा सभामुखको आसनबाट पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रथम प्रदेशसभा बैठक आह्वान गर्न जारी गरेको सूचना पढेर सुनाएका थिए । ३ नम्बर प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलका नेताको बुधबार साँझ बैठक बसी उक्त कार्यसूची तय गरेका थिए ।

पहिलो बैठकबाट प्रदेशसभाको अन्तरिम कार्यविधि पारित गरिँदैछ । त्यसपछि प्रदेशसभाको नियमित काम अघि बढ्नेछ ।अन्तरिम कार्यविधिभित्र बैठक सञ्चालन, सभामुखको काम, कर्तव्य र अधिकार, संसद् बैठकलाई व्यवस्थित रूपमा सञ्चालनका लागि कार्य व्यवस्था परामर्श समिति गठन गर्ने, प्रदेशसभा सदस्यको आचारसंहितालगायत विषय रहेको प्रदेशसभा सचिवालयका सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।

पहिलो प्रदेशसभा बैठक भएकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ राजनीतिक दलका एक-एक जना नेतालाई बोल्न दिनेसमेत कार्यसूची छ । कार्यसूची अनुसार मुख्यमन्त्रीकी दाबेदार अष्टलक्ष्मी शाक्यले आफ्नो धारणा सुरुमा राखेकी छन् । पाण्डेका अनुसार यो बैठकमा सभामुख चयनको प्रस्ताव पेस गरेपछि ज्येष्ठ सदस्य पौडेलले माघ २९ गते सभामुख चयन गर्ने तिथि बैठकबाट तोक्नेछन् ।

प्रकाशित मिति: Feb 1, 2018

प्रतिक्रिया दिनुहोस्