Logo
१३ बैशाख २०८१, बिहीबार
(January 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपा नेताहरुबीच बोलचाल बन्द, पुरानै ‘तमलोपा’ कार्यालयमा बस्न थाले ठाकुर

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुको बीचमा बोलाचाल बन्द भएको छ । जवकि यो बेला दलहरु प्रदेश सरकार गठन गर्नेदेखि लिएर प्रतिनिधिसभा र केन्द्रीय सरकार गठनको विषयमा छलफलमा व्यस्त छन् । राष्ट्रियसभा उम्मेदवार चयनमा नेताहरुबीचमा भएको विवादका कारण बोलचाल नै बन्द भएको छ । नेताहरुवीचको विवादको असरा प्रदेशसभाका लागि संसदीय दलका नेता, सभामुख, मुख्यमन्त्री, मन्त्रीलगायतका विषयमा हुनुपर्ने छलफलमा परेको छ । यसका लागि बैठक बस्नु पर्ने भएपनि कुराकानी बन्द हुँदा बैठक प्रभावित भएको छ ।

दुई नम्बर प्रदेशमा दुईटा सीट पाएका राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राष्ट्रियसभामा बीभा ठाकुर र दीपेन्द्र झा महन्थ ठाकुरले वृषेशचन्द्र लाल तथा महेन्द्रराय यादवले रमेश यादव तथा शरतसिंह भण्डारीले शेखर सिंहको नाम प्रस्ताव गरेका थिए । राजपाका एक नेता भन्छन्, ‘आ–आफ्नै मान्छे जानपर्ने सबैजनाको अडान थियो । राजेन्द्र महतोले बीभा ठाकुरको जसरी पनि जानुपर्छ भनेर अडान लिएर बसेका थिए । महेन्द्रराय यादव र शरतसिंह भण्डारीले पनि आ–आफ्नो अडान छाडेनन ।

राती अबेरसम्म छलफल गर्दा पनि कुरा नमिलेपछि रिसाएर राजेन्द्र महतोले महन्थ ठाकुरलाई जिम्मेवारी दिएर बैठकबाट घर फर्केका थिए । अनिल झा र शरतसिंह भण्डारी पनि आफ्नो घरतिर लागेका थिए ।’ ती नेता थप सुनाउँछन्, ‘त्यसदिन महन्थ ठाकुर आफ्नो निवास फर्केपछि राजकिशोर यादव र महेन्द्रराय यादव पनि उनको पछि पछि उतै गएका थिए । त्यहाँ गएर राती एक वजे मात्रै वृषेशचन्द्र लाल र रमेश यादवको नाम टुगों लागेको थियो ।’ बृषेशचन्द्र लालमाथी आफनै पार्टीका उम्मेदवारलाई हराउन असफल षड्यण्त्र गरेको आरोप समेत छ ।

यता, महन्थ ठाकुर प्रायः पुरानै ‘तमलोपा’को कार्यालयमा बस्छन् । यता नयाँ कार्यालयमा नेताहरु आउन छाडेका छन् । मंगलवार राजकिशोर यादव एक्लै पार्टी कार्यालयमा थिए । महन्थ ठाकुर विजुली वजारको पुरानो पार्टी कार्यालयमा थिए ।सोमवार पार्टीका संयोजक महन्थ ठाकुरले छलफलका लागि राजेन्द्र महतोलाई आफ्नो कार्यकक्षमा बोलाएका थिए । तर, महतो आफ्नो कार्यकक्षबाट उठेर गएनन् । आफ्नै कार्यकक्षमा बसिरहँदा ठाकुर स्वयं उनको कार्यकक्षमा गएर कुराकानी गरेको कार्यलय स्रोत बताउँछ ।

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले पार्टीमा कुनै प्रकारको विवाद नरहेको दावी गर्दै चाँडै नै बैठक बसेर प्रदेश सभाको विषयमा टुगों लगाउने बताए भन्दै रातोपाटीमा खबर छ ।  नेताहरु जिल्ला बाहिर भएका कारणले बैठकमा ढिलाई भएको उनको दावी छ ।

प्रकाशित मिति: Jan 31, 2018

प्रतिक्रिया दिनुहोस्