Logo
१२ बैशाख २०८१, बुधबार
(January 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय सभामा २४ जना निर्विरोध, ७६ जना चुनावी मैदानमा

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा २४ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले आवश्यक प्रक्रिया पूरा गरी सोमवार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै ५६ सिटमा २४ जना निर्विरोध भएका हुन् ।

सम्बन्धित प्रदेशका निर्वाचन अधिकृतले निर्विरोध हुनेसहित उम्मेदवारको अन्तिम नामावली समेत प्रकाशन गरेको हो । प्रदेश नम्बर २ मा निर्वाचन नै नहुने भएको छ भने प्रदेश नम्बर ३ को सवै समुहमा १६ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

१० जनाको उम्मेदवारी कायम भएको प्रदेश नम्बर १ मा महिला तर्फ एमालेकी विना पोखरेल, कंग्रेसकी सरिता प्रसाई तथा माओवादी केन्द्रकी नैनकला ओझा, खुलामा एमालेका परशुराम मेघी गुरुङ तथा हरिचरण सिवाकोटी र कांगेसका रमेश जंग रायमाझी निर्विरोध निर्वाचित हुनु भएको निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।

प्रदेश नम्बर २ मा भने आठै जना निर्विरोध भएका छन् । योसँगै २ नम्बरमा निर्वाचन नै नहुने भएको हो । एमालेका सुमनराज प्याकुरेल, कंग्रेसका जितेन्द्रनारायण देव र मुक्ताकुमारी यादव, माओवादी केन्द्रकी शशीकला दाहाल, सङयीय समाजवादी फोरम नेपालका प्रमिला कुमारी र रामप्रीत पासवान, राष्ट्रिय जनता पार्टी नेपालका बृषेशचन्द्र लाल र रामप्रसाद यादव निर्विरोध भएका छन ।

११ जनाको उम्मेदवारी कायम भएको प्रदेश ४ मा कांग्रेसका प्रकाश पन्थ अपाङता भएका व्यक्तिको कोटामा निर्विरोध निर्वाचिन भएका छन् । प्रदेश ५ मा महिलाको कोटामा एमालेकी कोमल वली र मिना बुढा तथा कंग्रेसकी अनिता देवकोटा निर्विरोध निर्वाचित भएका छन् ।

सो प्रदेशमा खुलासहित अन्य समुहका लागि भने ११ जनाबीच प्रतिस्पर्धा हुनेछ । १० जनाको उम्मेदवारी रहेको प्रदेश ७ मा महिलाको कोटामा एमालेकी इन्दु कडरिया, कमला वली तथा कंग्रेसकी तारा देवी भट्ट र अन्यमा एमालेका शेरबहादुर कुँवर, कंग्रेसका बद्री प्रसाद पाण्डे र माओवादी केन्द्रका हरेराम चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

निर्विरोध निर्वाचिन उम्मेदवारलाई आगामी २५ गते प्रमाणपत्र प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।
यसैबीच, निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि मतपत्र सार्वजनिक गरेको छ । मतपत्र ४ प्रकारका र मतपेटीका पनि ४ वटा हुने आयोगले जनाएको छ । स्थानीय तहका प्रमुख र उप प्रमुख तथा प्रदेश सभाका सदस्यले छुट्टा छुट्टै मतपत्रमा मतदान गर्ने व्यवस्था मिलाईएको निर्वाचन आयोगले जनाएको छ ।

७६ जना चुनावी मैदानमा
राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका ६ जना उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिएका छन् । गत बुधवार मनोनयन दर्ता गराएका उम्मेदवारलाई निर्वाचन आयोगले अपरान्ह २ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिएको थियो । एक जनाको उम्मेदवारी रद्द भएको छ ।

योसँगै आगामी २४ गते हुने राष्ट्रिय सभाको ५६ सिटका लागि ७६ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । अपाङ्गता भएका व्यक्तिको कोटामा उम्मेदवारी दिएका प्रदेश नम्बर ४ स्याङजाका रामबहादुर थापाले परिचयपत्र नविकरण नगरेको खुलेपछि निर्वाचन आयोगले थापाको उम्मेदवारी रद्द गरेको थियो ।

प्रदेश नम्बर १ बाट एमालेको तर्फबाट उम्मेदवारी दिएका खड्ग बस्नेत र राप्रपाकी अनुपमा देवी शाह, प्रदेश नम्बर २ बाट समाजवादी पार्टी नेपालका मोहम्मद अख्तर हुसैन, प्रदेश नम्बर ३ बाट एमालेका बेदुराम भुषाल, माओवादी केन्द्रकी गंगा पराजुली तथा राप्रपाकी लक्ष्मी देशराजले उम्मेदवारी फिर्ता लिएका छन् ।

आयोगले सोमवार नै चुनाव चिन्ह समेत प्रदान गर्नेछ । राष्ट्रिय सभा निर्वाचनका लागि प्रत्येक प्रदेशबाट ३ महिलासहित ८ जना निर्वाचित हुनेछन् । ५९ सदस्य रहने राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिले १ महिला सहित ३ जना नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।

प्रकाशित मिति: Jan 29, 2018

प्रतिक्रिया दिनुहोस्