Logo
८ बैशाख २०८१, शनिबार
(January 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली-प्रचण्डको आलोपालो सरकार : तत्काल माओवादी राष्ट्रपति र एमालेको प्रधानमन्त्री

काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच सरकार गठनमा सहमति भएको छ । तत्काललाई पार्टी एकता भने टरेको उच्च स्तरीय स्रोतले जनाएको छ । एकतापछिको एकीकृत पार्टीको अध्यक्ष आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नदिईए एकता नै नहुने भनेर माओवादी शीर्ष नेताहरुले अभिव्यक्ति दिँदै आएका छन् । वास्तवमा पदीय बाँडफाँडमा दुवै पार्टीका नेताहरुवीच एकमत नभएपछि तत्काललाई पार्टी एकता टरेको उच्च स्रोतको दाबी छ ।

‘हाम्रो अध्यक्षलाई एकीकृत पार्टीको अध्यक्ष नदिने देखियो, यो भएसँगै तत्काललाई पार्टी एकता हुँदैन्’ एक माओवादी नेताले भने,‘उहाँहरुले अध्यक्ष नदिने भएपछि हामी पनि एकताकोलागि किन लम्पसार पर्ने त ?’  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यसअघि सरकार गठन अघि नै पार्टी एकता हुन्छ भनेर अभिव्यक्ति दिएका थिए । तर, उनको उक्त चाहना अब पूरा नहुने देखिएको छ ।

हिजो ललितपुरको कुमारीपाटीको एक घरमा भएको चार घण्टे लामो ओली–प्रचण्ड भेटवार्तामा पनि तत्काललाई पार्टी एकताको विषयलाई थाँती राख्नेबारे गोप्य सहमति भएको स्रोतको दाबी छ । सोही अनुसार तत्काल उनीहरुले सरकार गठनमा भागबण्डा मिलाउन गृहकार्य सुरु गरेका छन् । स्रोतका अनुसार अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने सहमति भएको छ ।

राष्ट्रपति, उपराष्ट्र, सभामुख लगायतका अन्य महत्वपूर्ण पदमा समेत भागबण्डा मिलाउने कसरत भएको हो । सूत्रहरुले दिएको जानकारी अनुसार राष्ट्रपति अब माओवादीबाट बन्ने निश्चित भएको छ । र, उपराष्ट्रपति एमालेले राख्ने भएको छ । त्यस्तै सभामुख पनि माओवादीले नै राख्ने अडान लिएको छ । यसको लागि एमाले नेताहरु पूर्ण रुपमा तयार भैसकेको बुझिएको छ ।

माओवादी केन्द्रका एक नेताले भने,‘तत्काल पार्टी एकता हुनै सक्दैन् । बरु सरकार सञ्चालनमा आलोपालो हुन सक्छ । सरकार गठन अघि एकता टर्यो भन्दा पनि हुन्छ।’ यसअघि एमाले र नेकपा माओवादी केन्द्रभित्र वर्तमान राष्ट्रपति, उपराष्ट्रपति र सभामुख दाहोर्याउने गृहकार्य शुरु भएको खबर आएको थियो ।

नयाँ सरकार गठनसँगै पद बाँडफाँडको विषयमा एमाले र माओवादीभित्र गृहकार्य शुरु भएसँगै यस्ता कुरा बाहिर आएका थिए । तर, अहिले आएर पार्टी एकता टरेसँगै अहिलेकै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पूनः दोहोर्याउने सम्भावना कम भएको छ ।

प्रकाशित मिति: Jan 29, 2018

प्रतिक्रिया दिनुहोस्