Logo
२९ असार २०८२, आईतबार
(January 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोर्खाल्यान्डका नेता काठमाडौंबाट बेपत्ता, भारतीय प्रहरीले पक्राउ गरेको अनुमान

काठमाडौँ : भारत स्थित गोर्खाल्यान्ड आन्दोलनका एक नेता काठमाडौंबाट बेपत्ता भएका छन् । गोर्खाल्याण्ड आन्दोलनमा संलग्न एक जना नेता चार दिनदेखि काठमाडौबाट बेपत्ता पारिएका हुन् ।  धापासीस्थित काका ससुरा प्रकाशचन्द्र मुखियाको घरमा आएका बेला गोर्खाल्याण्ड टेरेटोरियल एडमिनिस्ट्रेसन (जीटीए) को बोर्ड सदस्य सञ्जय थुलुङलाई अपरिचित समूहले बसुन्धराबाट बेपत्ता बनाएको हो । काका ससुरा मुखियाले अज्ञात समुहले आफ्नी पत्नी सविता राईलाई समेत दुर्व्यवहार गरेको बताए । उनी गोर्खा जनमुक्ति मोर्चाको युवा संगठन गोर्खा जनमुक्ति युवा मोर्चाका पूर्व केन्द्रीय उपाध्यक्ष समेत थिए ।

स्रोतले नेपाल प्रहरीकै सहयोगमा भारतीय प्रहरीले थुलुङलाई पक्राउ गरेको हुनसक्ने दाबी गरेको छ । सन् २०१४ नोभेम्बर १८ मा नागाल्याण्ड र पश्चिम बंगालको सिमाना दिमापुरबाट गाडीमा दार्जिलिङ लैजाँदै गरेको हतियारसहित उमेश कामी र गणेश क्षेत्री पक्राउ परेका थिए । अभियुक्तहरुले उक्त हतियार थुलुङकै भएको बयान दिएपछि उनी बेपत्ता भएका थिए । यो घटनापछि गोर्खा जनमुक्ति मोर्चाले उनलाई जीटीए बोर्ड सदस्य र युवा मोर्चाको उपाध्यक्षबाट निष्काशन गरेको थियो । त्यही बेलादेखि भारतीय केन्द्रीय अनुसन्धान विभाग (सीआईडी) ले उनलाई सर्वाधिक खोजीको सूचीमा राखेको थियो ।

गाडीमा आएका अज्ञात व्यक्तिहरुले आफूहरु नेपाल प्रहरी भएको बताएको सवितालाई उद्धृत गर्दै मुखियाले जानकारी दिए । उनका अनुसार ज्वाईंको बेपत्ताबारे प्रहरी मुख्यालयमा समेत जानकारी गराइएको छ । अपरिचित समूहले थुलुङकी काकी सासु सविता राई मुखियालाई कतारबाट दाइले पठाएको सामान लिन आउनू भन्दै बोलाएका थिए । उनीहरुले राईलाई नियन्त्रणमा लिएर ज्वाईं सञ्जयलाई बोलाउन दबाब दिएका थिए । सविताले फोन गरेको केही समयपछि बसुन्धराको श्रीटोल पुगेका सञ्जयलाई हतियारधारी समूहले लगेर बेपत्ता बनाएको हो ।

भारतीय प्रहरीले थुलुङमाथि गोर्खाल्याण्डमा सशस्त्र विद्रोह गर्न हतियार ल्याएको र असमको सशस्त्र समूहसँगको मिलेमतोमा १५ जना गोर्खाल्याण्ड पर्सनल (जीएलपी)हरुलाई हतियार चलाउने तालिम आरोप लगाएको छ । नेपाल प्रहरीले पनि थुलुङ पक्राउबारे जानकार भएको बताएको छ । नेपाल प्रहरीको प्रधान कार्यालय पनि यस विषयमा जानकार रहेको प्रहरी स्रोत बताउँछन् ।

प्रकाशित मिति: Jan 26, 2018

प्रतिक्रिया दिनुहोस्