Logo
८ जेष्ठ २०८२, बुधबार
(January 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले–माओवादी इतिहासमा पनि एक–अर्काका पुरक थिए : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राजनीतिक इतिहासमा एमाले र माओवादी एक–अर्काका पुरकको भूमिकामा रहँदै आएको बताएका छन् । माओवादी केन्द्रसम्वद्ध जनसांस्कृतिक महासंघ, नेपालले केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘बि.सं. २०१९ सालपछि नेपालको कम्युनिष्ट आन्दोलनमा विभाजन आयो, त्यसपछि अलग–अलग समूहका रुपमा कम्युनिष्ट पार्टीहरु अस्तित्वमा रहे ।

२०२५ सालमा मोहन बिक्रम सिंहले केन्द्रीय न्यूक्लियस गठन गर्नुभयो भने २०२८ सालमा पुष्पलालले कोओर्डिनेशन केन्द्र स्थापना गर्नुभयो । अहिलेको एमाले कोओर्डिनेशन केन्द्र र माओवादी केन्द्र केन्द्रीय न्यूक्लियसको धारा हो । इतिहासमा यी दुई धाराले एक–अर्काको अस्तित्व रक्षाका लागि पुरकको भूमिका खेल्दै आएका छन् ।’ ‘२०२८ सालदेखि २०३८ सालसम्म तात्कालीन मालेले चौमलाई दक्षिणपन्थी, मिहिन पाराको संशोधनवादी भन्थ्यो, हामी चौम मालेलाई उग्रबामपन्थी भन्थ्यौं ।

मोहन बिक्रमजीले त उग्रबामपन्थी विचारधाराको खण्डन भन्ने मोटो पुस्तक नै लेख्नुभयो’, पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘२०३८ सालको वरिपरी आइपुग्दा चीनमा माओको निधन भयो । त्यसपछि नेपाली कम्युनिष्ट आन्दोलनमा नयाँ बहस सुरु भयो । चीनको बाटो ठीक कि बेठीक भन्ने बहस चल्यो । २०३८ सालपछि उग्रवादी भनिएको माले क्रमशः सुधारवादी, व्यवहारवादी धारातिर गयो । हामी चौम चाहिँ मोटो मशाल हुँदै क्रान्तिकारी धारातिर गयौं । परिस्थिति ठीक विपरित ठाउँमा आयो ।’ उनले एमालेसँग पार्टी एकताका लागि छलफल भइरहेकाे पनि बताए ।

प्रकाशित मिति: Jan 20, 2018

प्रतिक्रिया दिनुहोस्