Logo
१२ आश्विन २०८०, शुक्रबार
(January 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई कोरियाबीच वार्ता : ओलम्पिकमा उत्तर कोरिया पनि सहभागी हुने

उत्तर र दक्षिण कोरियाबीचको उच्चस्तरीय अन्तर कोरियाली वार्ता मंगलबार दक्षिण कोरियामा सुरु भएको छ। दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयका अनुसार यी दुई देशबीचको वार्ता दक्षिण कोरियाको अधीनमा रहेको सीमा क्षेत्रमा अवस्थित पानुमजोम नगरमा भएको हो। आपसमा मित्रवत् सम्बन्ध रहन नसकेका यी दुई कोरियाबीच दुई वर्षपछि पहिलोपटक उच्चस्तरमा औपचारिक वार्ता भएको हो।

वार्ता टोलीमा दुवै देशका तर्फबाट पाँच-पाँचजना सदस्य रहेका छन्। वार्ता टोलीको नाम हालै स्थापित सिधा सञ्चार सम्पर्क (हटलाइन कम्युनिकेशन) मार्फत् गएको शनिबार र आइतबार पठाइएको हो । वार्तामा दक्षिण कोरियाली टोलीको नेतृत्व राष्ट्रिय एकीकरणमन्त्री चो म्योङ गियोनले गरेका छन्। त्यसैगरी उत्तर कोरियाली टोलीको नेतृत्व शान्तिपूर्ण पुनः एकीकरण समितिका अध्यक्ष रि सुन गाउनले गरेका छन्। दक्षिण कोरियाको प्रस्तावमा सुरु भएको यस वार्ता मंगलबार बिहान १० बजे सुरु भएको थियो ।

पानुमजोम नगरमा रहेको पिसफुल हाउसमा वार्तामा बस्नुअघि उत्तर कोरियाली वार्ता टोली प्रमुख रिले भने, ‘यो महत्वपूर्ण वार्ता हो र यसका माध्यमबाट आगामी दिनमा पनि यसरी नै द्विपक्षीय वार्ता अघि बढ्न सकून् ।’ दक्षिण कोरियाली वार्ता टोलीका प्रमुख मन्त्री चो ले वार्तामा आफूहरू बडो धैर्यपूर्वक बस्ने बताएका थिए। उनले शीतकालीन ओलपम्पिक खेललाई शान्तिको पर्व बनाउने भन्ने बारेमा लागेको बताएका थिए । नयाँ वर्षको अवसरमा कोरियाली नेता किम जोङ उनले गरेको सम्बोधनपछि यसरी यो वार्ताको परिस्थिति निर्माण भएको हो। उनले दक्षिण कोरियासँग रगतको नाता भएको चर्चा गर्दै दक्षिण कोरियामा आयोजना हुने शीतकालीन ओलम्पिकमा सहभागी हुनसक्ने संकेत गरेका थिए।

उत्तर कोरिया खेलमा सहभागी हुने

उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलमा आफ्नो सहभगिता रहने बताएको छ । दुई कोरियाबीच मंगलबार भएको वार्तापछि उत्तर कोरियाले यस्तो पुष्टि गरेको हो । उत्तर कोरियाले आफ्ना खेलाडी र प्रतिनिधिहरू फेबु्रअरीमा हुन लागेको शीतकालीन ओलिम्पिमा सहभागी हुन पठाउने स्पष्ट पारेको छ । खेलकुदका लागि दक्षिण आउने उत्तर कोरियाली टोलीमा खेलाडी, प्रतिनिधि र समर्थकका साथै अन्य नागरिक पनि हुने उत्तर कोरियाको वार्ता टोलीका एकजना सदस्यले जानकारी दिए ।

उनीहरूबीच भएको वार्तामा ओलम्पिक खेलकुदका विषयमा छलफल भएको थियो। छलफलका विषयवस्तुको सीमितता रहेको बताइएको छ । उनीहरूको छलफल शीतकालीन ओलम्पिकमा उत्तर कोरियाका खेलाडीहरूलाई कसरी सहभागी गराउने भन्नेबारे बढी केन्द्रित भएको थियो। यस बैठकको निष्कर्षका बारेमा केही बताइएको छैन । उत्तर कोरियाले भने खेलकुदमा सहभागी हुने जानकारी शुरुमै गराएकाले वार्ताको वातावरण राम्रो बनेको थयो।

महासचिव गुतेरेस र ट्रम्पद्वारा स्वागत

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई कोरियाबीच हुन भइरहेको वार्ताको स्वागत गरेका छन्। उनले आफू सधैँ वार्ताकै पक्षमा भएको र सबै समस्याको समाधान वार्ताबाटै गर्नुपर्छ भन्नेमा जोड दिएका छन्। ट्रम्पले वार्ताबाट उनीहरूबीच सौहार्द वातावरण निर्माण हुन सकोस् भन्ने आफ्नो धारणा सार्वजनिक गरे। त्यसैगरी वार्ताको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुतेरेसले पनि प्रशंसा गरेका छन्। उनले वार्ताबाट दुई कोरियाबीच शान्ति र सौहार्दताको वातावरण निर्माण भई कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाको कामना गरेका छन्।

प्रकाशित मिति: Jan 10, 2018

प्रतिक्रिया दिनुहोस्