Logo
२७ कार्तिक २०८१, मंगलबार
(January 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारविरोधी प्रदर्शनमा २१ जनाको मृत्यु

इरानमा सरकारविरोधी प्रदर्शनमा २१ जनाको मृत्यु भएको छ । राष्ट्रपति हसन रौहानी नेतृत्वको सरकारविरुद्ध पछिल्ला चार दिनदेखि विभिन्न सहरमा भएका प्रदर्शनहरूमा २१ जनाको मृत्यु भएको हो । सोमबार आठ वर्षयताकै सबैभन्दा ठूलो प्रदर्शन भएको जनाइएको छ । सो प्रदर्शनमा प्रहरीको गोली लागेर सात प्रदर्शनकारी मारिएका थिए । मंगलबारको प्रदर्शनमा थप ६ जना मारिएका छन् ।

मारिएका प्रदर्शनकारीमध्ये ६ जना पश्चिमी ट्युसेरकानका र दुईजना दक्षिण–पश्चिमी सहर इजेहका छन् । त्यस्तै, अन्य दुई सहरमा दुई किशोर प्रदर्शनकारीको मृत्यु भएको छ । मूल्यवृद्धिविरुद्ध सरकारविरोधी प्रदर्शनले उग्र रूप लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । देशमा आर्थिक समस्या थप जटिल बन्दै गएको र सरकारले त्यसलाई नियन्त्रणमा लिन नसकेको प्रदर्शनकारीले आरोप लगाएका छन् ।

यसअघि इरानको दोस्रो ठूलो सहर मस्साड र अरू पश्चिम इरानी सहरमा पनि हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका थिए । राष्ट्रपति हसन रौहानीले भने कानुन मिच्ने र विद्रोह गर्नेलाई इरानका जनताले माफी नदिने बताएका छन् । यसैबीच मध्यइरानमा सरकारविरोधी प्रदर्शनकारीले एउटा प्रहरी चौकीमा आक्रमण गरेका छन् । प्रदर्शनकारीले देशको मध्यभागमा रहेको कादेरीजानको प्रहरी चौकी कब्जामा लिने प्रयास गरेको इरानका सञ्चारमाध्यमहरूले जनाएका छन् । यसअघि प्रदर्शनकारीले प्रहार गरेको गोली लागेर नजाफाबादमा एकजना प्रहरी अधिकृतको मृत्यु भएको थियो ।

यसैबीच, इरानको न्यायालयले सरकारविरोधी आन्दोलनमा हिंसात्मक गतिविधि सञ्चालन गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । आन्दोलनका क्रममा हिंसात्मक गतिविधिलाई प्रोत्साहन गर्नेलाई समेत कारबाही गरिने न्यायालयले चेतावनी दिएको छ । ‘पक्राउ परेका आन्दोलनकारी हिंसात्मक गतिविधिमा संलग्न रहेको पुष्टि भएमा उनीहरूले कडा सजाय भोग्नुपर्छ,’ तेहरानको मुख्य न्यायालयका प्रमुख मौसा कजानफरावादीलाई उद्धृत गर्दै तास्निमले उल्लेख गरेको छ ।

हिंसात्मक गतिविधि नगर्न गृह मन्त्रालयले आदेश दिएपछि ठूलो संख्यामा प्रदर्शनकारी पक्राउ परेका छन् । राष्ट्रपति हसन रौहानीले भने कानुन मिच्ने र विद्रोह गर्नेलाई इरानी जनताले कडा प्रतिवाद गर्ने बताएका छन् । मूल्यवृद्धिविरुद्ध गरिएको भनिएको सो प्रदर्शन हिंसात्मक हुँदै गएपछि हालसम्म दर्जनौँ प्रदर्शनकारी पक्राउ परेका छन् ।

प्रकाशित मिति: Jan 5, 2018

प्रतिक्रिया दिनुहोस्