Logo
१६ आश्विन २०८०, मंगलबार
(January 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वदलीय बैठक : अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने एजेन्डा

प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने तयारी स्वरुप सर्वदलीय बैठक बोलाएका छन्  ।  त्यसका लागि राजनीतिक सहमति जुटाउन प्रधानमन्त्री  देउवाले बिहान सर्वदलीय बैठक बोलाएका हुन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहान ९ बजे बोलाइएको बैठकमा राष्ट्रिय पार्टीका अध्यक्षहरूलाई दुई अन्य नेतासहित उपस्थित हुन आग्रह गरिएको छ ।

बैठकका एजेन्डा
सर्वदलीय बैठकमा मुख्य गरी तीन विषयमा छलफल हुनेछ । प्रधानमन्त्रीका स्वकीय सचिव केशव जोशीले प्रदेशको अस्थायी राजधानी, प्रदेश प्रमुख र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने विषयमा दलीय सहमति खोज्न सर्वदलीय बैठक बोलाइएको बताए ।

‘सरकारलाई प्रदेशको अस्थायी राजधानी तोक्न र प्रदेश प्रमुख नियुक्त गर्नुपर्ने बाध्यात्मक अवस्था आइपर्‍यो, त्यसका लागि सहमति जुटाउन प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको हो,’ उनले भने, ‘राष्ट्रिय सभा निर्वाचन प्रदेश–प्रदेशमा गर्ने र प्रदेशको अस्थायी राजधानीमा निर्वाचन आयोगले कार्यालय राख्नुपर्ने भएकाले अस्थायी मुकाम तोक्नुपर्ने बाध्यता सरकारलाई पर्‍यो ।

अस्थायी मुकाम तोकेपछि त्यहाँबाट काम सञ्चालन गर्न र निर्वाचित प्रतिनिधिलाई शपथ खुवाउन प्रदेश प्रमुखको आवश्यकता पर्ने भएकाले दलीय सहमति जुटाउन बैठक आह्वान भएको हो ।’

बैठकमा प्रधानमन्त्रीले राष्ट्रिय सभा निर्वाचनको मितिका विषयमा पनि नेताहरूसँग सुझाब माग्नेछन् । निर्वाचन आयोगले २५ माघभन्दा अघि निर्वाचन गर्न सम्भव नरहेको मंगलबार मात्रै विज्ञप्तिमार्फत जानकारी गराइसकेको छ । दलीय सहमतिमा माघभित्रै निर्वाचनको मिति तोक्ने तयारीमा सरकारले गरेको जोशीले बताए ।

अस्थायी राजधानी पनि एजेन्डा
प्रशासनिक निकायले प्रदेशको अस्थायी राजधानीका विषयमा भौतिक संरचना र स्थानका विषयमा अध्ययन गरी प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को ठिमी, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को दिपायलमा अस्थायी राजधानी तोक्न भवन र स्थान उपयुक्त रहेको उल्लेख गरिएको छ ।

केन्द्रको नाम प्रधानमन्त्रीले सर्वदलीय बैठकमा छलफल गरेर मात्र निर्णय गर्ने तयारी गरेका हुन् । अधिकारसम्पन्न प्रशासन पुनर्संरचना समितिले प्रदेशको अस्थायी राजधानीका लागि सम्भावित सहरहरू प्रस्ताव गरी मन्त्रिपरिषद्को कार्यालयमा पठाएको थियो । त्यसपछि प्रधानमन्त्री कार्यालय र सहरी विकास मन्त्रालयले स्थलगत अध्ययन गरी अस्थायी राजधानीको प्रस्ताव तयार पारेका हुन् ।

मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्ने
सरकारले सर्वदलीय बैठकमा अस्थायी मुकामको विषयमा सहमति जुटाउने र त्यसपछि मन्त्रिपरिषद् बैठक बसेर अनुमोदन गर्ने तयारी गरेको छ । प्रदेशको राजधानीका लागि विभिन्न स्थानमा आन्दोलन सुरु भइसकेको छ ।

सर्वदलीय बैठकमा सहमति जुटाएर अघि बढ्दा आन्दोलन मत्थर हुने सरकारको निष्कर्ष छ । प्रधानमन्त्रीले प्रदेश प्रमुखका नाम पनि सर्वदलीय बैठकमा छलफलका लागि पेस गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति: Jan 4, 2018

प्रतिक्रिया दिनुहोस्