विश्व रङ्गमंचमा सन् २०१७, के के भए मुख्य घटनाहरू ?
काठमाडौं : सन् २०१७ अघिल्ला वर्षहरूझैं धेरै उतारचढावका साथ बिदा भएको छ । अमेरिकामा नयाँ राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले पद बहाली गरेसँगै शुरू भएको विश्व राजनीतिको चर्चामा यस वर्ष पनि अमेरिका नै रह्यो । यस वर्ष सबैभन्दा धेरै राष्ट्रपति ट्रम्प नै विवादमा आए । उनले माफी माग्नेदेखि चेतावनी दिनेसम्मका घटना भए र तिनले विश्वमा चर्चा पनि पाए । त्यसबाहेक उनीसँग जोडिएर उत्तर कोरिया र रूस आइनैरहे भने प्राकृतिक प्रकोप र आतङ्ककारी हमला पनि भए । यसै सन्दर्भमा सन् २०१७ मा भएका मुख्य घटनाबारे यहाँ चर्चा गरिएको छ :
चर्चा चीनको
चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले राष्ट्रपति सी चिनफिङलाई पार्टीको विधानमा माओत्से तुङसरहको स्थान दिएको छ । पार्टीको महाधिवेशनको अन्तिम सत्रले विधान संशोधन गर्दै अध्यक्ष सीको राजनीतिक विचारलाई ‘नयाँ युगको चिनियाँ विशेषतासहित समाजवादबारे सी चिनफिङको विचार’ भन्ने नारा समावेश गरेको छ । चीनमा हालसम्म त्यस्तो सम्मान कम्युनिष्ट पार्टीका संस्थापक नेता माओलाई र सन् १९८० को दशकमा चीनमा आर्थिक सुधार ल्याएका देङ सिआओपिङलाई मात्रै दिइएको छ । यसले चीनको तेस्रो युग शुरू भएको व्याख्या गरिएको छ ।
उत्तर कोरियाको आणविक तनाव
सन् २०१७ मा पनि अमेरिका र उत्तर कोरियाको तनाव वर्षभर चर्चामै रह्यो भने उत्तर कोरियाले मिसाइल परीक्षण गरिरहेको विषयले विश्वलाई तर्साइरह्यो । अमेरिका र उत्तर कोरिया एक–अर्कालाई ध्वस्त पार्ने चेतावनीदेखि तल्लोस्तरका गाली गलौज गर्न पनि पछि हटेनन् । यो आणविक हतियारको होडबाजीले संसारमा ठूलो तहल्का मच्चायो । संयुक्त राष्ट्रसङ्घ, संयुक्त राज्य अमेरिकालगायत संसारका धेरै देशको आग्रह एवम् आणविक शस्त्रको विरोध हुँदाहुँदै उत्तर कोरियाले पछिल्लो पटक सेप्टेम्बर ३ मा निकै शक्तिशाली ब्यालेष्टिक क्षेप्यास्त्र परीक्षण गर्यो । उसका अनुसार सो क्षेप्यास्त्रले अमेरिकासम्म मार हान्न सक्छ ।
अमेरिका–रूस चुनावी विवाद
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको भनी निर्वाचनताका विवादमा आएको यो मुद्दाले अमेरिकी मिडियाको सन् २०१७ को पनि अधिकांश समय र स्थान लिएको छ । यसबाट अमेरिकामा निकै लामो विवाद पनि उत्पन्न भयो । यो विवाद अमेरिकाको सिनेट समितिसम्म पनि पुग्यो र उक्त समितिमा राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरालाई संसदिय सुनुवाइका लागि नै उभ्यायो । निर्वाचनका समयमा ट्रम्पलाई पुटिनको सूचना तथा प्रविधिको सञ्जालले सघाएको भनी गरिएको प्रचारको विरोधमा उनी उभिएको भए पनि एकजना रूसी वकिलसँग उनका जेठा छोराले नै त्यस समयमा ‘डिल’ गरेको तथ्य बाहिर आयो
‘ब्रेक्जिट’को कसरत जारी
यूरोपेली सङ्घका नेता बेलायत ईयूबाट बाहिरिने प्रक्रिया ‘ब्रेक्जिट’को दोस्रो चरणको छलफलको तयारीमा जुटेका छन् । ईयूका नेताले ब्रेक्जिटको प्रक्रिया पूरा भएपछि युनियनभित्रका देशसँगको सम्बन्धका बारेमा स्पष्ट हुन बेलायतसँग आग्रह गरेका छन् । बेलायत सन् २०१९ को मार्चदेखि ईयूबाट बाहिरिनेछ ।
भ्रष्टाचारका कारण राष्ट्रपति अपदस्थ
सन् २०१७ मा दुई मुलुकका शक्तिशाली व्यक्तिलाई अदालतले भ्रष्टाचारी ठहर गरेर अपदस्थ गरिदिएको छ । दक्षिण कोरियाकी राष्ट्रपति पार्क गेउन हाईलाई भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको आरोपमा महाअभियोग लगाइयो र पछि अदालतको आदेशमा नै थुनामा राखिएको छ ।
अमानवीय व्यवहार भोग्दै रोहिञ्ज्या
गएको अगष्ट महीनामा म्यानमारका रोहिञ्ज्या मुसलमान समुदायविरुद्ध म्यान्माली सेनाले सञ्चालन गरेको कारबाहीमा परी कम्तीमा पनि ६ हजार ७ सय जना सर्वसाधारण नागरिक मारिएको प्रतिवेदन सार्वजनिक भएको थियो । डाक्टर विदआउट बोर्डरर्स, एमएसएफले तयार पारेको प्रतिवेदनअनुसार रखाइन राज्यमा गत अक्टोबर १० देखि १ महीनासम्म गरेको कारबाहीका क्रममा मारिनेमा ७३० जना बालबालिका पनि छन् ।
स्पेन टुक्र्याउने प्रयास असफल
स्पेनको क्याटालोनिया राज्यलाई गत अक्टोबरमा स्वतन्त्र घोषणा गर्ने जनमत सङ्ग्रहको निर्णयसँगै क्याटालोनीय विश्व राजनीतिमा चर्चामा छ । जनमत सङ्ग्रहको निर्णयअनुसार भन्दै क्याटालोनियालाई त्यहाँका शासकहरूले छुट्टै राज्यको घोषणा गरेपछि केन्द्रीय सरकारले हस्तक्षेप गरेर नियन्त्रणमा लिएको छ । केन्द्र सरकारले राज्य सरकारका पूर्वसदस्यमध्ये आठ शीर्ष नेतासहित धेरैलाई कारबाही चलाएको छ भने कतिपय देश छाडेर भागेका छन् ।
कतारसँग छिमेकीको सम्बन्ध विच्छेद
इरानको मुख्य विरोधी साउदी अरेबियासहित केही मुलुकले कतारसँग गएको जुन ५ मा सम्बन्ध तोडेका छन् । कतारले आतङ्कवादलाई सहयोग पुर्याुएको उनीहरूको आरोप छ । यस आरोपलाई कतारले भने अस्वीकार गर्दै आएको छ । कतारमा आवश्यक खाद्यान्नको ४० प्रतिशत उसको जमीन जोडिएको छिमेकी साउदी अरेबियाबाट आउँथ्यो ।
आईएसका सशस्त्र लडाकू समूहलाई भित्रभित्रै सहयोग गरेको, अमेरिका, यूरोपेली सङ्घलगायत पश्चिमी मुलुकद्वारा कडा प्रतिबन्ध लगाइएको इरानसँग गहिरो साँठगाँठ राखेको र मध्यपूर्वका राष्ट्रबीच आपसी मतभेदकारी नीति अवलम्बन गरेकोजस्ता आरोपमा खाडीका ६ राष्ट्रहरू– इजिप्ट, लिबिया, साउदी अरब, युनाइटेड अरब इमिरेट्स, बहराइन, यमन र टाढाको दक्षिण एशियाली राष्ट्र माल्दिभ्ससमेत सातओटा मुलुकले कतारसँग दौत्य सम्बन्ध विच्छेद गरेका थिए ।