Logo
२ फाल्गुन २०८१, शुक्रबार
(December 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लालबाबु पंडितको निर्वाचन खर्च मात्रै १३ लाख १६ हजार

काठमाडौं : नेकपा एमालेका नेता तथा मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभामा विजयी लालबाबु पण्डितले निर्वाचन खर्च बुझाएका छन् । पण्डितले सोमबार निर्वाचन अधिकृतको कार्यलय मोरङमा निर्वाचन खर्चसम्बन्धी विवरण बुझाएका हुन् । चुनाव जित्न अन्य उम्मेदवारले करोडौँ खर्च गरेको चर्चा चलिरहेका बेला उनले भने करिब १३ लाख रुपैयाँमात्रै खर्च भएको विवरण बुझाएका हुन् ।

देशमै कोइराला परिवारबाट कांग्रेसको विरासत थाम्दै आएका डा. शेखर कोइरालालाई लालबाबुले पराजित गरेका थिए । ६७५ मतान्तरले विजयी भएका उनले ३३ हजार ९४१ मत ल्‍याएका थिए । कोइरालाले ३३ हजार २६६ मत ल्याए ।

यति रहेछ निर्वाचन खर्च 

निर्वाचन आयोगले प्रतिनिधिसभाका उम्मेदवारका लागि २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरेको थियो । तर, पण्डितले १३ लाख १६ हजार एक सय ६८ रुपैयाँ मात्रै खर्च गरेको विवरण बुझाएका छन् । पण्डितले बुझाएको निर्वाचन खर्च विवरण अनुसार मतदाता नामावली खरिदमा १५ सय रुपैयाँ, सवारी र घोडामा दुई लाख ४० हजार रुपैयाँ, इन्धन र दानामा ९८ हजार पाँच सय ५० रुपैयाँ, प्रचार सामाग्रीमा दुई लाख ८० हजार छ सय १५ रुपैयाँ र प्रचार सामाग्री ढुवानीमा ३४ हजार चार सय ६० रुपैयाँ खर्च भएको उल्लेख छ ।

त्यसैगरी गोष्ठी र कार्यकर्ता परिचालनमा २ लाख ८ हजार ६४ रुपैयाँ, सञ्चारमाध्यमबाट प्रचारप्रसारमा एक लाख ८७ हजार रुपैयाँ, कार्यालय सञ्चालनमा एक लाख २० हजार ४ सय ७५ रुपैयाँ, प्रतिनिधि परिचालनमा ६२ हजार ५ सय १४ रुपैयाँ र विविध शीर्षकमा ८३ हजार रुपैयाँ खर्च गरेको उल्लेख छ ।

लालबाबुलाई चुनाव खर्च विदेशमा मजदुरी गर्ने नेपालीले पठाइदिएको बताएका छन् । उनलाई खाडी मुलुकसहितका अन्य देशमा कार्यरत नेपालीले सहयोग गरेका हुन् । लालबाबुले चुनाव जितेपछि आर्थिक सहयोग गर्ने विदेशमा रहेका नेपाली र मोरङ क्षेत्र नम्बर ६ का मतदातालाई धन्यवाद दिएका छन् । उनले अब देश र जनताका लागि अझै काम गर्ने पनि बताएका छन् । ‘अब नेपालमै रोजगारीको वातावरण बनाउन भूमिका खेल्छु’, उनले भनेका छन् ।

 

प्रकाशित मिति: Dec 18, 2017

प्रतिक्रिया दिनुहोस्