Logo
१२ आश्विन २०८०, शुक्रबार
(December 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनबाट कहिले देखि हुन्छ इन्धन आयात ? सरकारी निकायबिच नै जुटेन सहमति

काठमाडौं । चीनबाट इन्धन आयात प्रक्रियामा सरकारी निकाय नै बाधक देखिएको छ । आपूर्ति मन्त्रालयले चीनबाट इन्धन आयात गर्ने  जिम्मा नेशनल ट्रेडिङलाई दिए पनि अर्थ मन्त्रालयले यसमा सैद्धान्तिक सहमति नजनाउँदा अन्योल देखिएको छ । यसरी अर्थबाट सहमतिका लागि कुनै प्रक्रिया अघि नबढ्दा ढिलाइ भएको आपूर्ति मन्त्रालयले बताएको छ ।

पछिल्लो समय चीनबाट इन्धन आयात गर्ने जिम्मा नेशनल ट्रेडिङलाई दिने चर्चा भए पनि अर्थ मन्त्रालयले यसलाई गम्भीरताका साथ नहेरेको आरोप आपूर्ति मन्त्रालयको गुनासो छ । गत कात्तिकमा नै सहमतिका लागि आपूर्ति मन्त्रालयले अर्थलाई चिठी पठाए पनि अहिलेसम्म यसमा कुनै छलफल नभएको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका अनुसार इन्धन आयातको जिम्मेवारी नेशनल ट्रेडिङलाई दिने विषयमा अन्तिम सहमतिका लागि फाइल मन्त्रिपरिषद्मा पठाइएको थियो । तर, मन्त्रिपरिषद्ले भने अर्थको सहमति मागेपछि कात्तिकको दोस्रो साता नै अर्थसँग सहमति मागिएको थियो । यस्तोमा अर्थले भने हालसम्म पनि सहमतिका लागि कुनै छलफल अघि नबढाएको आपूर्ति मन्त्रालयको संस्थान शाखा प्रमुख उर्मिला केसीले बताएकी छन् ।

अर्थ मन्त्रालयका अनुसार उक्त विषयमा आपूर्ति मन्त्रालय र सम्बन्धित कर्मचारीसँग छलफलको प्रयास गरिएको भए पनि सो भने सफल हुन सकेन । त्यस्तै विगतका दिनमा नेशनल ट्रेडिङ असल एवम् सफल संस्थानका रूपमा अघि नबढ्नु, हालको समयमा संस्थानसँग पर्याप्त कर्मचारी नहुनुजस्ता विषयले गर्दा यति ठूलो जिम्मेवारी दिने विषयमा आन्तरिक छलफल भइरहेकोसमेत अर्थले खुलाएको छ । चीनबाट इन्धन आयात गर्ने विषय एक गम्भीर विषय हो, त्यसैले नेशनल टे«डिङले उक्त जिम्मेवारी सही तरीकाले अघि बढाउन सक्ने वा नसक्ने भन्नेबारे अध्ययन गरिरहेको अर्थका एक अधिकारीले बताएका छन् । साथै पछिल्लो समय निर्वाचनका कारणसमेत यो विषय त्यति प्राथमिकतामा नपरेको अर्थले जानकारी गराएको  छ ।

आपूर्ति मन्त्रालयका सहसचिव एवम् नेशनल ट्रेडिङका सञ्चालक समितिका अध्यक्ष मुकुन्द पौडेलका अनुसार हाल अस्तव्यस्त अवस्थामा रहेको नेशनल टे«डिङले इन्धन आयातका लागि अर्थबाट सहमति पाउँदा पुनः काम गर्ने बाटो खुल्ने औंल्याएका छन् । घाटामा गएर डुबेको संस्थानलाई उक्त जिम्मेवारीले पुनः उकास्न सहयोग पुर्‍याउने पौडेल बताउँछन् । त्यस्तै चीनबाट इन्धन आयात गर्दा सोही प्रकारको पूर्वाधारको पनि उत्तिकै आवश्यकता पर्ने हुन्छ । त्यसैैले सँगसँगै अर्थले त्यसका लागि पनि जिम्मेवारी तोकिदिनुपर्छ, पौडेल भन्छन् । यसले गर्दा आगामी दिन कुनै प्रकारको समस्या भोग्नु नपर्ने उनको ठम्याइ छ ।

निरन्तर घाटामा गएपछि कर्मचारीलाई स्वैच्छिक अवकाश दिएर कामविहीन बसेको नेशनल ट्रेडिङलाई चीनबाट इन्धन आयातको जिम्मेवारी दिन आपूर्ति मन्त्रालयले ४ जना विज्ञको टोली खटाई अध्ययन एवम् अनुसन्धान गरेको थियो । कम्पनी ऐन अनुसार नेशनल ट्रेडिङलाई पुनःस्थपना गर्ने र सरकारको पूर्ण स्वामित्व रहने गरी इन्धन आयातकर्ता कम्पनीका रूपमा स्थापना गर्ने आशयसहित उक्त टोलीले मन्त्रालयमा प्रतिवेदनसमेत पेश गरेको आपूर्ति मन्त्रालयले जानकारी दिएको हो ।

प्रकाशित मिति: Dec 18, 2017

प्रतिक्रिया दिनुहोस्