Logo
१२ आश्विन २०८०, शुक्रबार
(December 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशीले जिताएका पहाडी, पहाडीले जिताएका मधेशी सांसद

काठमाडौं, प्रकाश सिलवाल : प्रतिनिधिसभा सदस्य चुनावमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका पाइन्छन् । मध्य तराई र आसपासका क्षेत्रमा विगतमा चलाइएको मधेश आन्दोलनको प्रभाव रहे पनि जनताले जातीयता र क्षेत्रीयताका आधारमाा नभई राजनीतिक दल, उम्मेदवार, संगठन, लोकप्रियता र मुद्दाका आधारमा मताधिकार प्रयोग गरेको देखिएको छ ।

मत परिणाम हेर्दा भित्री मधेशमा समेत कतिपय पहाडी मूलका उम्मदेवारले राम्रै स्थान पाएका छन् भने पहाडी मतदाता बढी मानिने कतिपय क्षेत्रमा मधेशी मूलका उम्मेदवार विजयी भएका छन् । मंसिर २१ गते भएको चुनावमा मोरङ क्षेत्र नम्बर १, २ र ३ मा क्रमशः एमालेका घनश्याम खतिवडा, २ मा नेपाली कांग्रेसका डाक्टर मीनेन्द्रप्रसाद रिजाल र एमालेकै भानुभक्त ढकाल मधेशी समुदायको मतसहितले प्रतिनिधिसभामा विजयी हुनुभएको छ ।

भित्री मधेश मानिने सिरहा क्षेत्र नम्बर ३ मा एमालेका लीलानाथ श्रेष्ठले मधेशी जनाधिकार फोरमका अशेश्वर यादवलाई र सिरहा १ मा कांग्रेसका प्रदीप गिरीले वाम गठबन्धनका गंगाप्रसाद यादवलाई पराजित गर्नुभएको छ । महोत्तरी १ मा नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेलले संघीय समाजवादी फोरमका लक्ष्मी महतो र महोत्तरीकै क्षेत्र नम्बर २ मा राजपाका शरतसिंह भण्डारीले कांग्रेसका किरण यादवलाई पराजित गरेको अर्को रोचक उदाहरण पनि छ । सर्लाही १ मा राजपाका प्रमोद साह, धनुषा ४ मा एमालेका रघुवीर महासेठ र सर्लाही ४ मा कांग्रेसका अमरेशकुमार सिंह पहाडी मतदाता बढी भएका क्षेत्रबाट जित्ने मधेशी अनुहार हुनुहुन्छ ।

विगतमा मधेश आन्दोलनमा लागेका र एमालेका कारण आफूहरुको संविधान संशोधनको माग पूरा नभएको आवाज उठाउँदै आएका नेता हृदयेश त्रिपाठीले एमालेको सूर्य चिह्न लिएर नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ मा विजय हासिल गर्नुभएको छ । प्रदेश २ कै अर्को जिल्ला रौतहट २ मा कांग्रेसका देवप्रसाद तिमल्सिना विजयी हुनुभएको छ । राजपा र फोरमको तालमेलका कारण तराई मधेसमा ती दल पहिलो भएका छन् भने एमाले, कांग्रेस र माओवादी केन्द्र पछाडि परेका छन् ।

विश्लेषक डा‍ राजेश अहिराजले मधेशी जनताले मूलतः संविधान संशोधनका पक्षमा मत जाहेर गरेको छ तर प्रत्यक्षतर्फ प्रतिनिधिसभामा प्रदेश नम्बर २ का कूल ३२ स्थानमा वाम गठबन्धन सात स्थानमा विजयी हुनुले जनताले मेलमिलापको सन्देश पनि एकैसाथ दिएको बताउनुहुन्छ । एमालेलाई मधेशविरोधी चित्रण गर्न खोजिए पनि समानुपातिकतर्फ उसले पाएको सम्मानजनक मतले पनि त्यही संकेत गरेकाले एमालेले मधेशी भावनालाई सम्बोधन गर्नुपर्ने अहिराजको भनाइ छ ।

मधेशी पत्रकार संगठनका अध्यक्ष मोहनकुमार सिंह तराई मधेशमा मधेश आन्दोलनपूर्व देखिने सामन्ती सोच वा डर, त्रासका कारण एकै जाति समूहका नेतालाई बढी विजयी गराइएको पाइए पनि मधेश आन्दोलनमा त्यहाँका पहाडी समुदायले पनि स्वामित्व लिएकाले अहिलेको परिणाम आएको बताउनुहुन्छ । ‘कुनै दल, उम्मेदवार वा जातिका आधारमा होइन जनताका बीचमा काम र लोकप्रियताका कारण जनादेश आएको छ । यसलाई ध्यान दिएर विजेताले काम गर्नुपर्छ’, सिहंको भनाइ छ । रासस

प्रकाशित मिति: Dec 15, 2017

प्रतिक्रिया दिनुहोस्