Logo
१५ चैत्र २०८०, बिहीबार
(December 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीमा सितारामले फेरि जित दोहोर्‍याए, बाम पराजित

प्रमोद यादव, इनरुवा । सुनसरी २ मा नेपाली कांग्रेसका सिताराम मेहता विजयी हुनु भएको छ । माओवादी केन्द्रका डम्मरु सुवेदीलाई ६ हजार १ सय ४६ मतले पराजित गर्नु भएको हो । सितारामले ४१ हजार ४ सय ९५ मत पाउनु भएको छ । डम्मरु सुवेदीले ३५ हजार ३ सय ४९ मत पाउनुभयो ।

सुनसरीका चार निर्वाचन क्षेत्र मध्य १ मा एमालेका जयकुमार राई विजयी हुनुभयो । क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका नेता तथा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी भैसक्नु भएको छ । क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरी कांग्रेसका विजयकुमार गच्छदारभन्दा २ सय ७१ मतले अगाडी हुनुहुन्छ । यहाँ झण्डै २५ हजार मत गणना गर्न बाँकी छ । प्रदेश नम्बर एकमा कांग्रेस बलियो देखिएको सुनसरीमा मात्रै हो ।

सितारामको राजनीतिक यात्रा
नेपाली कांग्रेसका नेता सिताराम मेहेता २०७० सालको चुनावमा सुनसरी क्षेत्र नं ४ बाट विजयी हुनु भएको थियो । अहिले निर्वाचन क्षेत्र हेरफेर भएसँगै उहाँ सुनसरी २ को उम्मेदवार बन्नु भएको हो । २०७३ सालमा यातायात राज्यमन्त्री भएका मेहेताको जन्म २०१० सालमा सुनसरीको इनरुवामा भएको हो । १८ वर्षको उमेरमै उहाँ राजनीतिमा लाग्नु भएको हो । इनरुवा जेसिसको संस्थापक समेत रहेका सिताराम २०२८ सालदेखि नेपाल विद्यार्थी संघमा सक्रिय हुनु भएको थियो ।
२०३१ सालमा नेपाल विद्यार्थी संघ सुनसरीको जिल्ला सभापति भएका सिताराम २०३५ सालदेखि भने नेपाली कांग्रेस सुनसरीको सदस्य बन्नुभयो ।

२०४९ सालमा भएको स्थानीय चुनावमा उहाँ इनरुवा नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकातर्फवाट विजयी हुनु भएको थियो । तर २०५४ सालमा भएको स्थानीय चुनावमा पार्टीले मेयरको टिकट दिएपनि उहाँ पराजित हुनुभयो । नेपाली कांग्रेस प्रजातान्त्रिकको सुनसरी सभापति बनेका मेहता पार्टी एकीकरणसँगै जिल्ला सहसभापति हुनु भएको थियो । सितारामले एसएलसीसम्मको अध्ययन पूरा गर्नुभएको छ । भगवती मावि इनरुवाबाट उहाँले एसएलसी दिनुभएको हो । हालको बसोबास उहाँको इनरुवा नगरपालिकामा छ ।

प्रकाशित मिति: Dec 11, 2017

प्रतिक्रिया दिनुहोस्