Logo
२८ मंसिर २०८१, शुक्रबार
(November 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुँलिदो व्यापार घाटा कम गर्ने यस्तो छ बाणिज्यको तयारी

काठमाडौं । वाणिज्य मन्त्रालयले व्यापारघाटा कम गर्न श्वेतपत्र जारी गर्ने भएको छ । मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले आइतवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न सरकारका सचिवहरूको बैठकमा यस्तो घोषणा गरेका हुन् ।

उनले निर्यातमा ‘इन्सेण्टिभ प्याकेज’ तर्जुमा गर्ने, निकासी पैठारी ऐन २०१३ लाई संशोधन गर्ने, नेपालको पारवहनका सम्बन्धमा कोलकाता, हल्दिया र विशाखापटन बन्दरगाहमा रहेका समस्याहरूलाई सम्बोधन गर्ने धारणा राखेका थिए ।

‘चीनतर्फको ‘ट्राञ्जिट ट्रिटी प्रोटोकल’ का सम्बन्धमा कार्य अगाडि बढाइनेछ’ उनले भने । त्यसैगरी, नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस) ले पहिचान गरेका अदुवा, अलैंची, पश्मिना, कफीलगायतका वस्तुहरूको मूल्य अभिवृद्धिकरणका लागि विभिन्न जिल्लामा कार्यक्रम सञ्चालन गर्नेलगायत कार्य गर्ने पनि उनले बताए ।

उनले ट्रेड पोर्टलको निर्माण र सञ्चालन, नेपाल गुणस्तर विभाग (एनबीएसएम) र खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागको गुणस्तर परीक्षण र क्षमता विकाससम्बन्धी कार्यक्रम, विभिन्न ८ जिल्लामा कफीकोे मूल्य श्रृङ्खला विकास कार्यक्रम गर्ने योजना रहेको पनि बैठकमा जानकारी दिए । गत आवमा नेपालको व्यापारघाटा २८ प्रतिशतले वृद्धि भई रू. ९ सय १२ अर्ब भएको बताउँदै चालू आवमा रू. ९ सय ५६ अर्ब पुग्न सक्ने अनुमान रहेको बताए ।

नेपालमा आयात हुने इनर्जी ड्रिङ्क, सफ्ट ड्रिङ्क, फर्निचर, मदिरा, सुर्ती, मोबाइल फोन, सुन र सवारीसाधनलाई निरुत्साहित गर्नुपर्ने तर्क पनि सचिव घिमिरेले गरेका थिए । यसका लागि कृषि, वन, स्वास्थ्य, सञ्चार, अर्थ र यातायात व्यवस्था मन्त्रालयले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने उनको तर्क थियो । बैठक मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: Nov 30, 2017

प्रतिक्रिया दिनुहोस्