Logo
१९ मंसिर २०८१, बुधबार
(November 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महन्थ ठाकुरको क्षेत्रमा यस्तो छ त्रिकोणात्मक प्रतिस्पर्धा

महेशकुमार दास, महोत्तरी : प्रतिनिधि सभा तर्फ राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक तथा मधेसी गठबन्धनका साझा उम्मेदवार समेत रहेका महन्थ ठाकुर चुनावी प्रतिष्पर्धामा उत्रे पछि महोत्तरी ३ को चुनावी वातावरण रोमाञ्चक भएको छ ।

सदरमुकाम तथा मधेसकै पुरानो जलेश्वर नगरपालिका सहित एकडारा गाउँपालिका , मटिहानी नगरपालिका र पिपरा गाउँपालिका समावेश रहेको महोत्तरी क्षेत्र नं. ३ मा राजपा नेपालकै संगठन बलियो छ । स्थानीय तहको चुनावमा यी चार वटै स्थानीय निकायको प्रमुख र उपप्रमुखमा विजयी भएका छन् । प्रमुख र उपप्रमुखमा मात्र नभई चार वटै स्थानीय तहमा राजपा नेपालको प्यानल अधिंकास वडाहरुमा विजयी भएकोले संगठन बलियो छ भन्दै नागरिक न्यूजमा समाचार छ ।

 

संघीय समाजवादी फोरम र राजपा नेपालको गठबन्धनका साझा उम्मेदवार हुनुका साथै नेपाली काँग्रेसले समेत उनैलाई सघाउने निर्णय गर्दै आफ्ना महोत्तरी ३ का उम्मेदवार बंजरग नेपालीको उम्मेदवारी फिर्ता लिए पछि महन्थको जित सहज ठान्नेहरु पनि स्वतन्त्र उम्मेदवार चन्देश्वर झा र वाम गठबन्धनका उम्मेदवार विजय चौधरीको चुनौतीलाई कमजोर मान्न सकिरहेको छैन ।

स्थानीय तहको चुनाव जस्तो प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी माहोल भने पक्कै पनि छैन। भर्खरै सम्पन्न भएको स्थानीय तहको चुनावमा महोत्तरी ३ मा खसेको मतको पहिलो जातिय आधारमा , दोस्रो व्यक्तिगत प्रभाव , तेस्रोमा दलिय हिसाव र चौथो मधेसी सेन्टीमेन्टको आधारमा उम्मेदवारहरुलाई मत पाएका थिए । तर मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी महोल स्थानीय तहको जस्तो छैन ।

यसपालिको निर्वाचनमा कुनै उम्मेदवारलाई बलियो र कसैलाई कमजोर भनेर व्याख्या गर्न सक्ने अवस्था नरहेको पेशाले निजि स्कुलका शिक्षक रहेका जलेश्वर ४ घर भएका शम्भु ठाकुरको भनाई छ । सदरमुकाम जलेश्वर समेत रहेको क्षेत्र नं. ३ मा अहिले सम्म दोहोर्याएर जित्ने उम्मेदवार छैनन् । यहाँका मतदाताको मन कहिल्यै पनि एकै जस्तो स्थिर नरहेकोले जनताको अभिमत कता जाने जनतालाई मात्र थाहा हुने तर्क शिक्षक ठाकुरको रहेको छ ।

यहाँ स्वतन्त्रबाट उम्मेदवारी दिएका चन्देश्वर झा पहिले राजपाबाटै टिकटका लागि आंकक्षि रहेका थिए । उनी चुनाव भन्दा केहि महिना पहिल्यै मात्रै राजपामा प्रवेश गरेका थिए । तर अन्तिम समयमा आएर राजपा नेपालबाट संयोजक महन्थ ठाकुरले उम्मेदवारी दिने पक्का भएपछि झा वागि भएर उनकै विरुद्ध स्वतन्त्र उम्मेदवारी दिन पुगे । जानकारहरुका अनुसार महन्थको आफ्नै संगठनका वागि उम्मेदवार झा पनि महन्थका चुनैती हुन् ।

यस अघि २०७० को संविधान सभा चुनावमा झाले तात्कालिन क्षेत्र नं. ४ मा स्वतन्त्रबाटै विजयी भएका थिए र यस पटक फेरि पनि दोहोर्याएर उनी स्वतन्त्रबाटै लडेर महन्थलाई पछारेर विजयी हुने कसरतमा कम्मर कसेर लागेको देखिन्छ । माओवादी केन्द्र र नेकपा एमालेको वाम गठबन्धनको उम्मेदवार विजयी चौधरीले संगठनको भोटका कारण ठाकुरलाई नै चुनाती दिइ रहेका छन् ।

स्वतन्त्र उम्मेदवार झालाई आन्तरिक रुपमा राजपा नेपालका नेताहरुले मनोनयन पत्र दर्ता अघि पटक पटक झालाई मनाउने निकै प्रयास पनि गरेका थिए । उनलाई राजपा नेताहरुले विभिन्न खाले प्रस्ताव समेत राखेका थिए तर उनी उम्मेदवारी दिएर नै छाडे । समग्रमा महोत्तरी ३ मा महन्थ, चन्देश्वर र विजयीबीच त्रिकोणात्मक र रोचक भिडन्त हुने देखिन्छ । यस क्षेत्रमा ७८ हजार ९ सय ४ मतदाता रहेका छन् ।

प्रकाशित मिति: Nov 29, 2017

प्रतिक्रिया दिनुहोस्