Logo
२७ भाद्र २०८१, बिहीबार
(November 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कडा रूपमा प्रस्तुत हुन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन चारवटै सुरक्षा निकायलाई निर्देशन दिएका छन् । बालुवाटारको छलफलमा नेपाली सेनाबाट बलाधिकृत रथी पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी, मुख्यसचिव लोकदर्शन रेग्मी, गृहसचिव मोहनकृष्ण सापकोटा सहभागी थिए ।

निर्वाचन आउन एक साता मात्र बाँकी रहँदा उम्मेदवारमाथि शृंखलाबद्ध बम आक्रमणका घटना बढेपछि देउवाले चारवटै सुरक्षा निकायका प्रमुखलाई सोमबार बालुवाटार बोलाएर यस्तो निर्देशन दिएका हुन् । ‘निर्वाचनप्रति जनतामा उत्साह छ, यस्तो वेला निर्वाचनको विरोध गर्ने र अवरोध गर्ने गतिविधि निन्दनीय छन्,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रेस संयोजक गोविन्द परियारले भने, ‘उम्मेदवार, नेता, प्रचार अभियान, मतदानस्थल, निर्वाचन सामग्री, सञ्चारकर्मी र मतदाताको सुरक्षा व्यवस्थालाई आपसी समन्वयमा थप प्रभावकारी बनाउँदै शान्तिपूर्ण र भयरहित निर्वाचन हुने वातावरण बनाउनुस् ।’

निर्वाचन नजिकिँदै गर्दा उम्मेदवार, निर्वाचन प्रचार अभियानलाई केन्द्रित गर्दै बम विस्फोटदेखि उम्मेदवारमाथि आक्रमणका घटना बढेपछि पश्चिम नेपालमा चुनावी प्रचारमा व्यस्त रहेका देउवा काठमाडौं फर्किएका हुन् ।

पहिलो घेरामा प्रहरी, तेस्रोमा सेना
निर्वाचनमा पहिलो घेरामा नेपाल प्रहरीसँगै म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना खटिनेछन् । नेपाली सेनाले निर्वाचन सुरक्षाका लागि सचेत रहेको भन्दै तेस्रो घेरामा परिचालित भइसकेको जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि खटिइसकेका छन् । प्रधानमन्त्रीसँगको छलफलमा प्रहरी र नेपाली सेनाका तर्फबाट निर्वाचनमा प्रभावकारी रूपले खटिन र आपराधिक गतिविधि नियन्त्रण गर्न देशभर सुरक्षा निर्देशन भइसकेको जानकारी गराएका थिए ।

सुरक्षा निकायले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा सुरक्षा संयन्त्र परिचालन भइसकेको र अझै प्रभावकारी बनाउन निर्देशन दिएको गृह प्रवक्ता दुवाडीले जानकारी दिए । साथै, विस्फोटलगायतका घटनामा परी घाइते भएका व्यक्तिहरूको उचित स्वास्थ्योपचारको आवश्यक प्रबन्ध मिलाउन पनि प्रधानमन्त्री देउवाले निर्देशन दिएका छन् ।

जुनसुकै दलका भए पनि कारबाही गर्नूस् : प्रधानमन्त्री
प्रधानमन्त्री देउवाले निर्वाचन बिथोल्न खोज्ने जुनसुकै दलका नेता, कार्यकर्ता वा व्यक्ति भए पनि तत्काल पक्राउ गर्न र कारबाही गर्न निर्देशन दिएका छन् । ‘समन्वय गरेर निर्वाचनको सुरक्षाका लागि भोलिदेखि नै प्रभावकारी रूपमा खटिनुस्,’ सुरक्षा प्रमुखहरूलाई देउवाको निर्देशन छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले सुरक्षा अधिकारीले निर्वाचनलाई शान्तिपूर्ण बनाउन सुरक्षा योजना प्रस्तुत गरेकोे बताए । ‘प्रधानमन्त्रीले निर्वाचनविरोधी गतिविधि नियन्त्रण गरी शान्तिपूर्ण रूपमा निर्वाचन गर्ने वातावरण बनाउन निर्देशन दिनुभएको छ,’ दुवाडीले भने, ‘निर्वाचनलाई शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्ने, सहज रूपमा जनताले मताधिकार प्रयोग गर्न पाउने, निर्वाचनविरोधी गतिविधि र आपराधिक गतिविधि नियन्त्रण गर्नेदेखि उम्मेदवार र निर्वाचन सामग्रीको सुरक्षा योजना हामीले प्रस्तुत गरेका छौँ ।’

 

प्रकाशित मिति: Nov 21, 2017

प्रतिक्रिया दिनुहोस्