Logo
१८ आश्विन २०८१, शुक्रबार
(November 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेलको सम्भावना अध्ययन गर्न चिनियाँ उच्च प्राविधिक टोली लुम्बिनीमा

भैरहवा : रेल मार्गको सम्भावना अध्ययन गर्न आएको चिनियाँ उच्च प्राविधिक तथा सरकारी अधिकृत सहितको टोलीले बिहीबार रुपन्देही आएर अध्ययन गरेको छ । टोलीले भैरहवा आसपासको क्षेत्र निरीक्षण गरेको हो ।

चिनियाँ राष्ट्रिय रेल वे प्रशासनका उप निर्देशक झियान चियान नेतृत्वको ३३ सदस्यीय टोलीले नेपालमा रेलको सम्भाव्यताबारे अध्ययन गरिरहेको छ। केरुङ्गबाट हिँडेको टोली पोखरा हुँदै लुम्बिनी आएको हो ।

भैरहवा विमानास्थलको पछाडि, भैरहवाभन्दा पूर्व तथा पश्चिमी क्षेत्रको निरीक्षण गरी लुम्बिनी आसपास पनि रेलको सम्भाव्यताबारे अध्ययन गरिएको भौतिक निर्माण तथा यातायात मन्त्रालय रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायले बताए ।

दुई पक्षले नेपालमा रेलको सम्भावनाबारे संयुक्त रुपमा अध्ययन गरिरहेको उनले बताए । नेपाल र चीनबीच रेल माध्यमद्वारा सहकार्य गर्न चिनियाँ टोली उत्सुक रहेको आफूले पाएको उपाध्यायले बताए ।

‘काठमाडौं–पोखरा रेलमार्गको यसअघि नै अध्ययन भइसकेको छ,’ उनले भने, ‘टोलीले लागत र डिजाइनलगायत एउटा खाका तयार पार्नेछ र अन्तिम रूप दिनेछ ।’ यसको लम्बाइ करिब ३ सय किलोमिटर हुने उनले बताए । अध्ययन सकेर टोली शुक्रबार चीन फर्कनेछ ।

प्रकाशित मिति: Nov 9, 2017

प्रतिक्रिया दिनुहोस्