Logo
२९ मंसिर २०८१, शनिबार
(November 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशका महत्वपुर्ण नेताहरु : जम्मा ४, ७०८ जनाको उम्मेदवारी

प्रमुख राजनीतिक दलदेखि साना राजनीतिक दलका नेताले आआफ्नो क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन् । आगामी मंसिर १० र २१ गते हुन लागेको निर्वाचनलाई भव्य र सभ्य बनाउन लगाउने लक्ष्यका साथ आफूहरु प्रतिस्पर्धामा होमिएको उनीहरुको टिप्पणी छ । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराएका छन् । टिकट वितरणमा असन्तुष्टि जनाउँदै काँग्रेसकै अर्का नेता गोविन्दराज जोशीले समेत सोही क्षेत्रबाट प्रतिस्पर्धी छन् । वाम गठबन्धनका तर्फबाट किसान श्रेष्ठ उम्मेदवार छन् ।

काँग्रेसका महामन्त्री शशांक कोइराला नवलपरासी–१ बाट उम्मेदवार बनेका छन् । काँग्रेसका अर्का नेता विमलेन्द्र निधि धनुषा क्षेत्र नं ३ बाट उम्मेदवार भएका छन् । उनको प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनले रामसिंह यादवलाई प्रतिस्पर्धामा उतारेको छ भने राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसमेत सोही क्षेत्रबाट उम्मेदवार छन् । यसैगरी काँग्रेस नेता कृष्ण सिटौला झापा–३, विजयकुमार गच्छदार सुनसरी–३, मीनेन्द्र रिजाल मोरङ–२ बाट चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले काठमाडौँ– १ बाट उम्मेदवारी दिएका छन् । उनका प्रतिस्पर्धीमा वाम गठबन्धनबाट विद्यार्थी नेता अनिल शर्मा र विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र चुनावी मैदानमा छन् । काठमाडौँ क्षेत्र नं ४ मा काँग्रेसका युवा नेता गगन थापा र वाम गठबन्धनका तर्फबाट राजन भट्टराई प्रतिस्पर्धी छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नं ५ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रतिस्पर्धीका रुपमा काँग्रेसले खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ । अधिकारी त्रिचन्द्र क्याम्पसको प्राध्यापकबाट राजीनामा दिएर उम्मेदवार बनेका हुन् । इलाम क्षेत्र नं १ बाट एमालेका वरिष्ठ नेता झलनाथ खनाल र सोही जिल्लाको क्षेत्र नं २ बाट सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । नेता खनालको प्रतिस्पर्धीका रुपमा काँग्रेसले भूपेन्द्र कट्टेललाई उम्मेदवार बनाएको छ भने पूर्वसभामुखसमेत नेम्वाङको प्रतिस्पर्धीका रुपमा काँग्रेसले केशव थापालाई उम्मेदवार बनाएको छ ।

यस्तै काठमाडौँ क्षेत्र नं २ मा वाम गठबन्धनका तर्फबाट पूर्वप्रधानमन्त्री माधकुमार नेपालले आफ्नो उम्मेदवारी दिएका छन् । उनको प्रतिस्पर्धीका रुपमा काँग्रेसले दीपक कुइँकेललाई उम्मेदवार बनाएको छ । काठमाडौँ क्षेत्र नं ५ बाट वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा एमाले महासचिव ईश्वर पोखरेल र काँग्रेसका तर्फबाट डा प्रकाशशरण महत उम्मेदवार छन् । एमालेका उपाध्यक्ष वामदेव गौतमले बर्दिया क्षेत्र नं १ बाट उम्मेदवारी दिएका छन् । गौतमको प्रतिस्पर्धीका रुपमा काँग्रेसले सिँचाइ मन्त्रीसमेत रहेका सञ्जय गौतमलाई उम्मेदवार बनाएको छ । वाम गठन्धनका तर्फबाट एमाले उपाध्यक्ष भीम रावल अछाम १ बाट उम्मेदवार हुनुहुन्छ भने उहाँको प्रतिस्पर्धीका रुपमा काँग्रेसबाट भरतकुमार स्वाँर चुनावी मैदानमा छन् ।

एमालेका उपमहासचिव विष्णु पौडेल रुपन्देही क्षेत्र नं ३ बाट उम्मेदवार छन् भने उनको प्रतिस्पर्धीका रुपमा युवराज गिरीलाई काँग्रेसले उम्मेदवार बनाएको छ । यसैगरी पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनका प्रतिस्पर्धीका रुपमा काँग्रेसको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका नेता विक्रम पाण्डेले उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा दाङ निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा रहनुभएका महराको प्रतिस्पर्धीका रुपमा काँग्रेसले राजु खनाललाई मैदानमा उतारेको छ । यस्तै माओवादी केन्द्रका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अर्घाखाँचीबाट उम्मेदवार बनेका छन् । उनका प्रतिस्पर्धीका रुपमा रामबहादुर विसी छन् । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसाल ललितपुर क्षेत्र नं ३ बाट, सोहि पार्टीका नेता गिरिराजमणि पोखरेल महोत्तरी– १ बाट, हितमान शाक्य काठमाडौँ– १० बाट र झक्कु सुवेदी काठमाडौँ– ६ बाट उम्मेदवार छन् ।

माओवादी केन्द्रका अर्का नेता मातृकाप्रसाद यादव धनुषा क्षेत्र नं १ बाट उम्मेदवार बन्नुभएको छ भने उनको प्रतिस्पर्धीका रुपमा काँग्रेसका आनन्दप्रसाद ढुंगाना छन् । धनुषा–२ बाट वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा रामचन्द्र झा उम्मेदवार छन् । उनका प्रतिस्पर्धीका रुपमा कृषि विकासमन्त्रीसमेत रहेका काँग्रेसका नेता रामकृष्ण यादव छन् । पूर्वसूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की झापा क्षेत्र नं १ बाट उम्मेदवार छन् । उनका प्रतिस्पर्धीका रुपमा काँग्रेसका युवा नेता विश्वप्रकाश शर्मा छन् । माओवादी केन्द्रका नेत्री उर्मीला अर्याल पर्सा– ४ बाट र नेता प्रभु साह रौतहट– ३ बाट उम्मेदवार बनेका छन् ।

यस्तै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनका तर्फबाट उमेशकुमार यादव, काँग्रेसबाट सकलदेव सुतीहार र स्वतन्त्ररुपमा राजपाका तर्फबाट जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् । सोही पार्टीका अर्का नेता अशोक राई काँग्रेसको समर्थनमा सुनसरी क्षेत्र नं १ बाट उम्मेदवार बनेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले काँग्रेससहितको समर्थनमा मकवानपुर क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनले कृष्णप्रसाद दाहाललाई उम्मेदवार बनाएको छ । राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर महोत्तरी– ३ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ । उनका प्रतिस्पर्धीका रुपमा सोही दलका सांसद चन्द्रेश्वर झा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

राजपका अध्यक्षहरुको पनि उम्मेदवारी 

राजपा नेपालका ६ जना अध्यक्ष प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका छन् । राजपा अध्यक्ष महन्थ ठाकुर समानुपातिक तर्फ उम्मेदवार बन्ने चर्चा परिचर्चा चलि रहँदा अन्ततः उहाँ प्रत्यक्ष तर्फ महोत्तरी निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधी सभाको लागि उम्मेदवारी दिनु भएको छ । त्यस्तै राजपा नेपालका अर्का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महत्तो आफनो साविकको निर्वाचन क्षेत्र सर्लाहीबाट चलाङ लगाएर धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीको विरुद्धमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै शरतसिंह भण्डारी आफनो बलियो पकड रहेको क्षेत्र महोत्तरी क्षेत्र नं। २ बाट प्रतिनिधी सभाको लागि उम्मेदवारी दिनु भएको छ । त्यस्तै महेन्द्रराय यादव सर्लाही निर्वाचन क्षेत्र–२ र अनिलकुमार झा आफ्नै रौतहट जिल्लाको क्षेत्र नं.–१ बाट उम्मेदवारी दिएका छन् । राजकिशोर यादव सिरहा– ४ प्रत्यक्ष तर्फ प्रतिनिधी सभाका उम्मेदवारी दर्ता गराएका छन् ।

Comments

0 comments

प्रकाशित मिति: Nov 2, 2017

प्रतिक्रिया दिनुहोस्