Logo
७ आश्विन २०८०, आईतबार
(October 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको घोषणापत्र : ५ वर्षमा अर्थतन्त्रको आकार ५० खर्ब पुर्‍याउने लक्ष्य (घोषणापत्रसहित)

नेपाली कांग्रेसले आगामी पाँच वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार ५० खर्ब पुर्‍याउने लक्ष्यसहितको चुनावी घोषणापत्र तयार पारेको छ ।

कांग्रेसले उच्च आर्थिक वृद्धिको महत्वाकांक्षी राष्ट्रिय अभियानसहितको घोषणापत्र मंगलबार सार्वजनिक गर्दैछ । यो अवधिमा प्रतिव्यक्ति औषत वार्षिक आय डेढ लाखभन्दा बढी हुने गरी अर्थतन्त्रलाई गतिशील बनाउने कांग्रेसको अठोट छ । निकै लामो घोषणा पत्र तयार गरेको कांग्रेसले मधेशबारे समेत यसपटक औपचारिक रुपमा आफ्नो धारणा अघि सारेको छ ।

पाँच खर्ब विदेशी लगानी भित्राउने दाबी :

कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र तयार गरेको छ । ‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ भन्ने मूल नारासहित तयार गरिएको ८४ पृष्ठको घोषणापत्र मंगलबार सार्वजनिक गरिँदै छ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, पार्टीका वरिष्ठ नेताहरूको उपस्थितिमा पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गरिने प्रचारप्रसार समिति संयोजक बालकृष्ण खाणले बताए । कांग्रेस ०७० को संविधानसभा निर्वाचनमा पनि यही नारासहितको घोषणापत्र लिएर जनतामाझ गएको थियो ।

घोषणापत्रमा २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि कांग्रेसले गरेका विकासका फेरिहस्त समेटिएको छ । यस अवधिमा कालोपत्र सडक, उच्च शिक्षा लिने विद्यार्थीको संख्या, स्वास्थ्य चौकी र शौचालय, सडक, विद्युत्, पुल र वित्तीय संस्थाहरूको उल्लेख्य मात्रामा विकास भएको उल्लेख छ । घोषणापत्रमा विद्यालय र क्याम्पसहरूको संख्या बढेको र उच्च शिक्षा अध्ययनका लागि सहज भएको जनाइएको छ । कांग्रेसको उदारवादी नीतिका कारण त्यो सम्भव भएको दलिल घोषणापत्रमा गरिएको छ । त्यस्तै, बालमृत्युदर घटेको, विद्युत् क्षमता बढेको, कांग्रेस सरकारको नेतृत्वमा पुगेका वेला गरेको पहलका कारण दुई करोड ७८ लाख ५० हजार बढी मोबाइल फोन प्रयोगमा आएको उल्लेख छ ।

१० वर्षपछिको नेपाल परिकल्पनामा : 
घोषणापत्रमा ‘कांग्रेसको विकास दृष्टि र लक्ष्य : अबको १० वर्षमा नेपाल’ भन्ने शीर्षकमा १० वर्षमा कांग्रेसले नेपाललाई कस्तो बनाउन चाहेको छ भन्ने तथ्य उल्लेख गरेको छ । राष्ट्रिय पुनर्जागरणको युग सुरु भएको भन्दै आर्थिक उन्नति र विकासलाई प्राथमिकता दिएको छ । २० बुँदामा समेटिएको भिजनमा काठमाडौं–मधेस एक्सप्रेस हाइवे चलाउनेदेखि भोकमरी र भ्रष्टाचार निर्मूल पार्नेसम्मका योजना समेटिएका छन् ।

ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्तामा उल्लेख्य वृद्धि गर्ने, प्रत्येक स्थानीय तहमा ज्येष्ठ नागरिक सेवा आश्रम बनाउने र उनीहरूलाई आवास, भोजनलगायतका सबै सेवा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता घोषणापत्रमा उल्लेख छ । त्यस्तै, नेपाली समाज र राज्यलाई भ्रष्टाचारमुक्त बनाउन अख्तियार, सतर्कता केन्द्रलाई प्रभावकारी बनाई सामाजिक–राजनीतिक अभियान चलाउने संकल्प कांग्रेसले गरेको छ । राजनीतिक भागबन्डाका आधारमा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने प्रचलन रोक्ने प्रतिबद्धता कांग्रेसको छ ।

यस्ता छन् कांग्रेसका मुख्य प्रतिबद्धता :
-अर्थतन्त्र सय खर्ब हाराहारीमा पुर्‍याएर लाखौँ नयाँ रोजगारी सिर्जना गर्ने
-कुल गार्हस्थ उत्पादनको अनुपात औसत ५% पुर्‍याउने
-वार्षिक एक खर्बदेखि पाँच खर्बबराबरको विदेशी प्रत्यक्ष लगानी भित्रायाउने
-अर्थतन्त्रमा नेपाली उत्पादनमूलक उद्योगको अंश ५ बाट १५% पुर्‍याएर अन्तर्राष्ट्रिय उत्पादन सञ्जालमा गाँस्ने
-१५ हजार मेगावाटभन्दा बढी ऊर्जाको उत्पादन गरी आन्तरिक खपतभन्दा बढी ऊर्जा निर्यात गर्ने
-गरिबीको रेखामुनि रहेका जनताको हिस्सा ३% भन्दा कममा झार्ने
-न्यूनतम रोजगारी ग्यारेन्टी र आधारभूत आय निश्चित गरिएको बृहत् सुरक्षा प्याकेजको कार्यान्वयन गर्ने
-प्रत्येक नेपालीको स्वास्थ्य बिमा गर्ने
-मोबाइल र इन्टरनेटको पहुँच सबै नेपालीमा पुर्‍याउने
-पाँचवटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने
-तराई–मधेस र पहाडका १८ लाख हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा बाह्रै महिना सिञ्चित गर्ने व्यवस्था गर्ने
-औसत नेपालीको आयु ७७ वर्ष नाघ्ने, शिशु मृत्युदर ३३ (प्रति १००० जीवित जन्म) बाट घटाएर एक अंकमा सीमित गर्ने, मातृ मुत्युदर २५८ (प्रतिएक लाख जीवित जन्म) बाट घटाएर ५० मा झार्ने
-नेपालको अन्तर्राष्ट्रिय छवि शतप्रतिशत स्वच्छ ऊर्जामा आधारित वातावरणमैत्री अर्थतन्त्रको बनाउने
-प्रमुख पर्यटकीय नगरहरूमा शतप्रतिशत र अन्य सहरहरूमा बहुसंख्यक सवारीसाधन विद्युतीय बनाउने
-कुपोषण र भोकमरी निर्मूल पार्ने, सबै युवालाई साक्षर बनाउने र सीप र दक्षता हासिल गराउने
-सोह्र वर्षभन्दा माथिका सबै नेपालीको बैंक खाता अनिवार्य बनाउने
-नेपालको ७५% भन्दा बढी जनसंख्या व्यवस्थित, सुविधासम्पन्न, आधुनिक सहरहरूमा बसोवास गर्ने व्यवस्था गर्ने
-सुरक्षित आवासमा बस्ने नेपाली घरपरिवारको हिस्सा तीन गुणाले वृद्धि गर्ने
-नयाँ भवनहरू अनिवार्य रूपले भूकम्प–प्रतिरोधी बनाउने
कांग्रेसको नजरमा एमाले, माओवादी र वाम गठबन्धन

राष्ट्रिय एकता र समृद्धिको एमाले बाधक
कांग्रेसले एमालेलाई असहयोगी र अवसरवादी राजनीतिक चरित्र बोकेको पार्टी भनेको छ । एमाले राष्ट्रिय एकता र समृद्धिको बाधक भएको उसको निष्कर्ष छ । ‘एमाले संविधान निर्माणको वेलादेखि नै आफ्ना प्रतिस्पर्धी राजनीतिक दलहरूप्रति निरन्तर असहिष्णु र आक्रामक प्रवृत्तिका साथ क्रियाशील रह्यो,’ घोषणापत्रमा भनिएको छ, ‘संसदीय पद्धति र आचरणअनुरूप आफू सहभागी सरकारको काम र निर्णयमा उत्साहपूर्ण सहकार्य गर्नुभन्दा पार्टीगत र गुटगत राजनीतिक भागबन्डा खोज्ने प्रवृत्तिद्वारा एमालेले पटक–पटक देखायो । एमालेको नेतृत्वमा सरकार बनेपछि उसको राजनीतिक असहिष्णुता झनै बढ्यो ।’

माओवादी केन्द्र : अस्थिर र अवसरवादी
माओवादी केन्द्र अस्थिर र राजनीतिको लाभ खोज्ने अवसरवादी पार्टी भएको कांग्रेसको निष्कर्ष छ । ‘देश राजनीति मुठभेडको गम्भीर मोडमा पुगेका वेला पनि माओवादी केन्द्र द्वन्द्वकालीन प्रवृत्ति र घटनाका प्रभावबाट मुक्त हुन सकेन । दीर्घकालीन लोकतान्त्रिक सहकार्यमा आबद्ध हुनुको साटो माओवादीभित्र अस्थिर राजनीतिका बखत सत्ताको लाभ खोज्ने प्रवृत्ति देखिन्छ, माओवादीको ढुलमुले प्रवृत्तिले राष्ट्रिय राजनीतिमा अस्थिरता बढाएको छ,’ घोषणापत्रमा उल्लेख छ, ‘माओवादी केन्द्र कहिले एमालेसँग सरकार बनाउने र कहिले कांग्रेससँग सरकारमै बसी प्रतिपक्षसँग गठबन्धन गर्ने गम्भीर वैचारिक विचलन र भरोसा गर्न नसकिने पार्टी बन्दै आएको छ ।’

साम्यवाद स्थापना गर्ने उद्देश्य वाम गठबन्धन
कम्युनिस्ट गठबन्धनका नेता र योजनाकारहरूले संविधानका आधारभूत लोकतान्त्रिक मूल्य–पद्धति र शासन प्रणालीलाई संशोधन गर्दै प्रत्यक्ष राष्ट्रपतीय प्रणालीका माध्यमबाट एकदलीय कम्युनिस्ट पार्टीद्वारा सत्ता नियन्त्रण गर्ने र नेपालमा साम्यवाद स्थापना गर्ने उद्देश्य राखेका छन् ।

कम्युनिस्टहरू ‘हत्यारा र राज्यआतंकका पक्षपाती’
कांग्रेसले घोषणापत्रमा कम्युनिस्टहरूलाई ‘हत्यारा र राज्यआतंकका पक्षपाती’ भनेको छ । ‘कम्युनिस्टहरू लोकतन्त्रलाई उपयोग गरेर साम्यवाद ल्याउने चेष्टा गर्छन्,’ घोषणापत्रमा भनिएको छ, ‘कम्युनिस्टहरू शान्तिका पक्षधर हुँदैनन्, तिनले हिंसा, व्यक्ति हत्या र राज्यआतंक सिर्जना गर्ने गर्छन् ।’

पुरै घोषणापत्र जस्ताको त्यस्तै पढ्नका लागि यहाँ तल क्लिक गर्नुहोस् :

नेपाली कांग्रेसको घोषणापत्र

 

 

प्रकाशित मिति: Oct 30, 2017

प्रतिक्रिया दिनुहोस्